• ५ वैशाख २०८२, शुक्रबार

जयगढबजार आगलागी : सात करोड बढीको क्षति अनुमान

blog

आगलागी भएको जयगढ बजार क्षेत्र । तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, चैत २७ गते । घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको जयगढ बजारमा ७ करोड रुपियाँभन्दा बढी क्षति भएको आँकलन गरिएको छ । जयगढ बजारमा रहेका २७ वटा घरपसल, सामग्री गरेर ७ करोडभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

आगलागीमा ढुंगामाटोका १०, जस्तापाताका १५, पक्की दुई घर पसल जलेर नष्ट भएको छ । आगलागीबाट सुनचाँदी, कपडा, स्थानीय सामग्री, खुद्रा पसलसँगै घरहरु आगजनीमा परेर जलेका छन् । आगलागीबाट भएको धनमालको क्षतिका बारेमा थप विवरणहरु संकलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । आधा रातिसम्म आगलागी नियन्त्रणमा केन्द्रित भएको र ठुलो क्षति भएकाले विवरण संकलनको काम भइरहेको बताइएको छ । 

स्थानीय पुष्पराज शर्माको आइएमइ सेन्टरबाट बेलुकी करिब साढे ७ बजेटबाट भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । बजारको साँघुरो सडक, नजिकमा पानीको स्रोत नहुनु र जिल्लामा एक मात्र दमकल भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको  प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो । बान्नीगढी जयगढ गाउँपालिकाको कार्यालयसँगै जोडिएको जयगढ बजारका साथै नजिकै रहेको खर मेलामा आगलागी भएपछि बजार सकिने चिन्तामा स्थानीय रहेका थिए ।