• ४ वैशाख २०८२, बिहिबार

खुकुरी प्रहारबाट युवक गम्भीर घाइते

blog

साङ्केतिक तस्बिर

विजयकुमार साह
ढल्केबर, चैत २६ गते ।
धनुषाकोे मिथिला बिहारी नगरपालिका–५, ललियामा सोमबार राति एक युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट सोही ठाउँका २५ वर्षीय श्यामसुन्दर मण्डल  गम्भीर घाइते हुनुभएको छ । लियास्थित साप्ताहिक बजार नजिक दुई व्यक्तिबिच विवाद भएपछि खुकुरी प्रहार भएको बताइएको छ ।

प्रहरी चौकी ललियाका सहायक प्रहरी निरीक्षक रामजीवन चौधरीले मण्डलमाथि खुकुरी प्रहार गर्ने सोही स्थानमा मदिरा पसल सञ्चालन गर्दै आएका अन्दाजी ५० वर्षीय विजय नाम गरेका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताउनुभयो । आक्रमणपछि विजय फरार रहेका छन् ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट मण्डलको घाँटीमा गहिरो चोट लागेको छ । उहाँको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सहायक प्रहरी निरीक्षक चौधरीले दुई जनाबिच के विषयमा विवाद भएको भन्ने कारण खुल्न नसकेको बताउनुहुँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो । घटनालगत्तै फरार भएका विजयको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।