• ४ वैशाख २०८२, बिहिबार

अघि बढ्यो नगरपालिकाको नाम छोटो बनाउने प्रस्ताव

blog

राजकुमार भट्टराई
खोटाङ, चैत २६ गते ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम लामो भएको भन्दै छोटो बनाउने प्रस्ताव अघि सारिएको छ । नगरपालिकाको नाम छोटो बनाउन छलफल अघि बढाउने निर्णय गरेको छ ।  

चैत २५ गतेको कार्यपालिका बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम छोट्याउनका लागि बहसमा लैजाने निर्णय गरेको हो । नगरपालिकाको नाम लामो भएको भन्दै टीकाटिप्पणी भएकाले नाम छोटो बनाउनका लागि बहस थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

नेपाल सरकारले २०७१ वैशाख २५ गते तत्कालीन दिक्तेल, लफ्याङ, खाल्ले र बाम्राङ गाविसलाई समेटेर दिक्तेल नगरपालिका घोषणा गरेको थियो । पछि राज्य पुनःसंरचना गर्ने क्रममा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले दिक्तेल नगरपालिकाको नाम ‘रुपाकोट मझुवागढी नगरपालिका’ राख्न गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वयत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगसमक्ष सिफारिस गरेको थियो । तर २०७४ सालमा स्थानीय तह कार्यान्वयनमा आएपछि अगाडि ‘दिक्तेल’ थपेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नामकरण गरिएको थियो ।

हाल उक्त नाम लामो भएको भन्दै नगरवासीले टीकाटिप्पणी गर्दै आएका छन् । नगपालिकाको नाम लामो भएकाले कतिपय कार्यालयमा ‘दिरुमनपा’ लेख्ने गरिएको छ । विशेषगरी विभिन्न कार्यालयमा ठेगाना लेख्ने÷लेखाउने क्रममा नगरपालिकाको नाम नअटाएको जनगुनासो सुन्ने गरिएको थियो । 

राजनीतिक दल, सङ्घ–संस्था, नागरिक समाज, आम नागरिकलगायतसँग छलफल तथा समन्वय गरी राय लिएर नगरपालिकाको नाम छोटो बनाउन पहल गर्ने प्रमुख  भट्टराईले बताउनुभयो ।