उर्लाबारी समाचारदाता
उर्लाबारी, चैत २६ गते । भूमि समस्या समाधान आयोग, मोरङले जिल्लाको कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम सुरु गरेको छ । शनिबारदेखि वडा नम्बर ७ को प्रोगेसिप टोलबाट जग्गाको नापजाँच सुरु गरिएको कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताउनुभयो ।
सरकार परिवर्तनपछि लामो समय अवरुद्ध काम सुरु हुँदा स्थानीयले खुसी प्रकट गरेका छन् । पालिकाले यसअघिका आयोगले गरेका कामलाई निरन्तरता दिँदै भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँचको काम सुरु गरेको हो ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले वडा नं. ४, ५, ६ र ७ मा एकैसाथ नापजाँचको काम अघि बढाइएको जानकारी दिनुभयो । यसअघि वडा नं. ४ र ६ मा काम भइरहेको थियो । भूमि समस्या समाधान आयोगसँग समन्वय गरी कर्मचारी र आवश्यक प्राविधिक उपकरणको व्यवस्थासहित काम थालिएको अध्यक्ष इङ्नामको भनाइ छ । अध्यक्ष इङ्नामले गाउँपालिकाका सबै वडामा भूमिहीन, दलित र सुकुमवासी समस्या रहेका कारण बाँकी वडामा पनि प्राथमिकतासाथ नापजाँचको काम विस्तार गर्ने बताउनुभयो ।
भूमि समस्या समाधान आयोग मोरङका अध्यक्ष नवीन पौडेलले जिल्लामै सबैभन्दा बढी समस्या रहेको कानेपोखरीमा तीव्र गतिमा काम अघि बढाइने बताउनुभयो । उहाँले अघिल्लो आयोगले गरेका काम जहाँ रोकिएको थियो, त्यहीँबाट अघि बढ्ने गरी काम थालेको उल्लेख गर्नुभयो ।
गाउँपालिकामा हाल पाँच हजार ८२ जना भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क छ । चार दशकदेखि लालपुर्जाको पर्खाइमा रहेका सुकुमवासी भने हातमा धनीपुर्जा नपरेसम्म खुसी हुनुको अर्थ नरहने बताउँछन् ।