• ४ वैशाख २०८२, बिहिबार

बढ्न थाल्यो जताततै डढेलो

blog

वालिङ समाचारदाता 

वालिङ, चैत २६ गते । स्याङ्जामा डढेलो तथा आगलागीका घटना बढ्न थालेका छन् । केही दिनयता जिल्लाका विभिन्न स्थानमा आगलागी भइरहेको छ । आगलागीले घरगोठ जलेका छन् भने वनजङ्गलमा भएको डढेलोले खानेपानीका पाइपलगायत जलेका छन् । जङ्गलमा लागेको आगो बस्तीमा आउने डरले धेरै गाउँले सतर्क भएर बस्ने गरेका छन् ।

पछिल्लो एक हप्तामा मात्रै वालिङ, पुतलीबजार, गल्याङलगायतका पालिकाका विभिन्न ठाउँमा आगलागी भएको जिल्ला वन कार्यालय स्याङ्जाले जनाएको छ । सामुदायिक वन तथा खरबारीमा आगलागीको घटना बढेको वन कार्यालयको भनाइ छ । अर्जुनचौपारी गाउँपालिकामा आगलागी हुँदा १० लाख बराबरको धनमाल नष्ट भएको छ । अर्जुनचौपारी गाउँपालिका–६ का ८० वर्षीय बुद्धिबहादुर नेपालको घरगोठमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जङ्गलमा लागेको आगो बस्तीमा पस्दा घरगोठ जलेको हो । 

यस्तै वालिङ नगरपालिका–१२, भन्ज्याङ तिलाहरेमा आगलागी हुँदा तीन गोठ जलेर नष्ट भएका छन् । स्थानीय कमलकान्त न्यौपानेको बाख्रा फार्म पूर्ण रूपमा जलेर नष्ट भएको छ भने फार्मसँगै रहेका दुई गोठ जलेर नष्ट भएको वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिनुभयो । त्यस्तै वालिङ नगरपालिका–८, भीमटारीमा आगलागी हुँदा खानेपानीको पाइप जलेर नष्ट भएको छ । ११ पालिका रहेको स्याङ्जामा प्रायः सबै पालिकामा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । 

आगलागी हुनुभन्दा पहिले सतर्क रहन सबै पालिका र सरोकारवालालाई सचेत गराइएको जिल्ला वन कार्यालय स्याङ्जाका प्रमुख नवराज बरालले जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता समिति, आमा समूह, युवा समूहलगायतलाई सचेत बनाई गाउँठाउँमा हुन सक्ने आगलागी कम गर्ने काम गरिरहेको उहाँको भनाइ छ । आगो लगाउनेबारे सूचना दिन कार्यालयले अनुरोध गर्दै आएको छ ।