• ४ वैशाख २०८२, बिहिबार

बिरामी पहिचान गर्न घरैमा परीक्षण

blog

रामेछाप समाचारदाता

रामेछाप, चैत २६ गते । रामेछापको सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सर्वसाधारणलाई नसर्ने रोगबाट बचाउन नयाँ अभियान सुरु गरेको छ । चिकित्सालयले घर घरमा स्वास्थ्यकर्मी पठाएर सर्वसाधारणको उच्च रक्तचाप तथा मधुमेह, बाथ, पायल्स, फिस्टुला, ग्यास्ट्रिकलगायतका नसर्ने रोगको जाँच गर्न सुरु गरेको हो । 

चिकित्सालयमा बिरामीको चाप कम भएका बेला स्वास्थ्यकर्मीले घर घरमा गएर स्वास्थ्य परीक्षण गरी बिरामी पहिचान गर्न सुरु गरेको चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि बुधबारसम्म चिकित्सालयमै बिरामीको चाप हुन्छ । बिहीबार र शुक्रबार बिरामीको चाप कम हुने गर्छ ।  त्यस्तो बेलामा स्वास्थ्यकर्मीले घरमा गएर जाँच गरी नसर्ने रोगका बिरामी पहिचान गर्ने र रोग देखिएकालाई चिकित्सालयमा बोलाउने अभियान सुरु गरेका छौँ ।” 

यो क्रममा कतिपय बिरामीले लाजका कारण पनि रोग लुकाउने गरेको पाइएको उहाँले बताउनुभयो । “चिकित्सालयकै वरिपरि पायल्स, फिस्टुलालगायत मलद्वारको रोगका धेरै बिरामी भेटिएका छन् । यो सङ्ख्या जिल्लाभरि त कति छ कति, तिनै रोगीलाई लक्ष्य गरेर हरेक महिनाको अन्तिम शनिबार विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रिया सेवा दिएका छौँ । अझै खुलेर बिरामी आइरहेका छैनन्,” उहाँले भन्नुभयो । पायल्सलगायत मलद्वारको रोगको समयमा नै उपचार गर्दा पूर्ण रूपमा निको हुने उहाँले बताउनुभयो । 

नसर्ने रोगका बिरामीको लक्षण रोगले गाँजिसकेपछि देखिने र त्यस्तो अवस्थामा उपचार निकै कठिन र खर्चिलो हुने चिकित्सालयका अर्का डा. मनिकण्ठ गौतम बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अस्पतालकै वरिपरि पनि प्रेसर, सुगर, बाथ, हाडजोर्नी, ग्यास्ट्रिक, पायल्स, फिस्टुलालगायतका रोगको समस्या भएका धेरै बिरामी भेटिएका छन् । उनीहरूले समयमै उपचार गराउँदा रोग पूरै निको हुन्छ तर ढिला ग¥यो भने उपचारमा पनि धेरै समय लाग्छ । कतिपय रोग पुरानो भएपछि पूर्ण रूपमा निको पार्न कठिन हुन्छ ।”

सीमित स्रोतसाधनका बिचमा नसर्ने रोगका बिरामी पहिचानको काम सुरु गरिएको चिकित्सालयका सूचना अधिकारी दीपक कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग जनशक्ति सीमित छ । मधुमेह जाँच गर्ने किड्स चाहिन्छ । तथापि चिकित्सालय आसपासका क्षेत्रमा यस्तो जाँच सुरु गरेका छौँ ।” प्रदेश सरकारले थप स्रोतसाधन व्यवस्थापन गर्दा वा स्थानीय सरकारले सहकार्य गरे भने यसको दायरा बढाउन सकिने उहाँले बताउनुभयो ।