• २६ चैत २०८१, मङ्गलबार

आगलागीका घटना वृद्धि

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत २६ गते । जिल्लाभर वन जङ्गलमा दैनिक आगलागीका घटना बढ्दै गएका छन् । लामो समय वर्षा नभएका कारण खडेरी पर्नु, घाँसपात राम्रो हुने विश्वास गरिनु र गुच्ची च्याउको उत्पादन हुने विश्वासले दैनिक आगलागीका घटना गराउने गरिएको पाइएको हो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले जिल्लाभर दैनिक चारदेखि पाँच वटा आगलागीका घटना भइरहेको जानकारी आउने गरेको बताउनुभयो । यसरी जङ्गलमा आगलागी गर्ने व्यक्ति अज्ञात रहने हुँदा पनि दैनिक आगलागीका घटना वृद्धि भइरहेको उहाँले जनाउनुभयो । पछिल्ला दिनमा सिमकोट गाउँपालिकामा मात्र एउटा गोठ र अन्य जङ्गल गरी ११ वटा आगलागीका घटना भएको बताउँदै उहाँले घाँस र च्याउ राम्रो उत्पादन हुने लोभमा लाखौँ मूल्यका रुखपात जलेर नष्ट भएको बताउनुभयो । 

यता सर्केगाड गाउँपालिका–४ का मिनबहादुर शाहीले चैत महिनाभरमा गाउँपालिकामा आगलागी कतै न कतै जङ्गलमा भइरहेका कारण एक दिन पनि आगलागी भएको दिन नरहेको बताउनुभयो । आगलागीले ठुला जङ्गल नष्ट भएको बताउँदै उहाँले लागेको आगो निभाउने प्रयाससमेत कहिल्यै नभएको जनाउनुभयो । हुम्लामा अधिकांश आगलागीका घटनामा जङ्गल जलेर सकिएपछि आफैँ निभ्ने गरेको छ । सर्केगाड गाउँपालिकामा मात्र १७ वटा आगलागीका घटना भएका छन् । यता चङ्खेली गउँपालिका–४ का भक्तबहादुर शाहीले एक हप्तामा सानाठुला गरी १७ वटा आगलागीका घटना भएको बताउनुभयो । आगो गोठाला, सिकारी वा अन्य कसैले लगाउने गर्छ, त्यसको खोजबिन गर्ने निकाय मौन बस्दा जङ्गल नष्ट हुने गरी आगलागी गराउनेको खोजी गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसैगरी ताँजाकोट गाउँपालिका–३ का जगत भियालले १४ वटा आगलागीका घटना भएर वनजङ्गलमा क्षति पुगेको बताउनुभयो ।