धनगढी समाचारदाता
धनगढी, चैत २६ गते । कैलालीको धनगढीस्थित मुख्य बजार क्षेत्रमा कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
अब कैलाली पुलदेखि पार्क मोडसम्म मात्रै कालोपत्रे गर्न बाँकी रहेको छ । बाँकी रहेको यो खण्डमा पनि एक हप्ताभित्रै कालोपत्रेको काम हुने पूर्वाधार विकास कार्यालय धनगढीले जानकारी दिएको छ ।
“सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको छ,” पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी विनोद खड्काले भन्नुभयो, “बाँकी रहेको खण्डमा सबै तयारी भइसकेकाले एक हप्ताभित्रै कालोपत्रे हुन्छ ।” उहाँले वैशाखभित्रै कालोपत्रे सडक निर्माणको सबै काम पूरा हुने उल्लेख गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बनिरहेको यो सडक निर्माणका लागि सडक अधिकार क्षेत्रमा परेका ४२८ संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको थियो । उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रमा परेको संरचना हटाएपछि सडक विस्तारको काम सुरु गरिएको थियो । यसअघि यो सडक क्षेत्रीय सहरी विकास आयोजनाले बनाउने तय भएको थियो तर भौतिक संरचना हटाउने सवालमा विवाद बढेपछि अन्यतिर काम गरेर सो आयोजना फिर्ता गएको थियो ।
भ्याटसहित ५१ करोड ६८ लाख ७८ हजार रुपियाँको लागतमा कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म सडक बनिरहेको छ । सडक निर्माणका लागि २०८० वैशाख २७ गते धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । २०८२ वैशाख २६ गतेसम्म ठेक्का समायवधि सकिँदै छ ।
यो सडकको दुवैतर्फ पैदलमार्गसहित पक्की नाला, सोलार सडकबत्ती रहने जनाइएको छ । २.३ किलोमिटर लामो बन्ने कालोपत्रे सडकको चौडाइ ३० मिटर तोकिएको छ । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यस खण्डमा कालोपत्रे सडक निर्माण भएपछि धनगढीको मुख्य बजार क्षेत्रमा फुटपाथ, मेडियन र व्यवस्थित नालीसहितको सडक निर्माणको काम पूर्ण रूपमा पूरा हुने छ । सडक निर्माण भइरहेका कारण विगत केही वर्षदेखि मुख्य बजार क्षेत्रको व्यापार, व्यवसाय प्रभावित बन्दै आएको छ ।