नवीनराज कुइँकेल
लमजुङ, चैत २६ गते । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले आज आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
ट्होटें पर्व मनाउन लमजुङको क्व्होलासोथार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गुरुङ जातिको साँस्कृतिक पर्वको ट्होटेको अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो ।
ट्होटे पर्वको अवसरमा गाउँपालिका वा अन्तर्गतका कार्यालयहरु, वडा कार्यालयहरु, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरु, सबै विद्यालयहरु तथा अन्य संघ संस्थाहरुमा बिदा दिइएको छ । गुरुङ समुदायको बाक्लो उपस्थिति रहेकाले कार्यापालिका बैठकले स्थानीय बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताउनुभयो ।
गुरुङ जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउदै आएका हुन् । ट्होटें पर्वका दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टेंको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।