• २६ चैत २०८१, मङ्गलबार

अनुमति बिना सञ्चालित विद्यालय बन्द गर्न माग

blog

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्याब्सन गौर समितिका पदाधिकारीहरु । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), चैत २६ गते ।
रौतहट सदरमुकाम गौरमा अनुमति नै नलिई कतिपय विद्यालय सञ्चालन भइरहेका छन् । मापदण्ड पूरा नगरेको, अनुमति नलिएको, विद्यालय सञ्चालनका लागि कुनै पनि कागजात नभएका विद्यालय बन्द गराउन प्याब्सन गौर नगर समितिले गौर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

शैक्षिक सत्र सुरु हुन लाग्दा च्याउ जस्तै उम्रिएका विद्यालयले यहाँका बालबालिकाको भविष्यसँग खेलबाड गर्न लागेको भन्दै समितिका अध्यक्ष जमिल अख्तरले त्यस्ता विद्यालयलाई कारबाही गर्न माग गर्नुभएको हो ।

कतिपय विद्यालयले तल्लो कक्षाको मात्र अनुमति लिएर माथिल्लो कक्षा समेत चलाउँदै आइरहेका छन् ।

समितिको अगुवाइमा निजि विद्यालयहरुले नगर प्रमुख शम्भु साहलाई बुझाएको ध्यानाकर्षण पत्रमा सङ्घीघय शिक्षा ऐन तथा गौर नगरपालिकाको शिक्षा ऐन २०७४ कार्यान्वयन गर्न माग गरिएको छ ।

नगर प्रमुख साहले विद्यार्थीको नामाङ्कन अघि विद्यालय अनुमति प्राप्त रहेको नरहेको प्रति अभिभावाक सचेत हुनुपर्ने बताउनुभयो ।