रामकृष्ण बोहरा
बागलुङ, चैत २५ गते । धौलागिरी प्रादेशक अस्पताल बागलुङमा ग्रामीण प्रसूति भिडियो एक्सरे तालिम साइट सञ्चालनमा ल्याइएको छ । यो तालिम साइट गण्डकी प्रदेशकै पहिलो र देशभरमा तेस्रो हो । यसअघि झापाको आम्दा अस्पताल र बाँकेको भेरी अस्पतालमा ग्रामीण प्रसूति भिडियो एक्सरे तालिम साइट सञ्चालनमा छन् ।
दक्ष स्वास्थ्यकर्मीको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका महिलाहरुमा गर्भावस्थामा देखिने समस्याको समयमै पहिचान गर्न र निदान खोज्न ग्रामीण प्रसूति भिडियो एक्सरे तालिमले प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । विकटमा कार्यरत स्किल्ड बर्थ एटेन्डेन्ट (एसबिए) तालिम प्राप्त नर्सिङ कर्मचारीहरुले यो तालिम लिएपछि प्रसूति कार्यमा सहज हुने र मातृशिशु मृत्युदर कम गर्न टेवा पुग्ने धौलागिरी प्रादेशिक अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. प्रवीण घिमिरेले बताउनुभयो ।
‘‘२१ दिने तालिम लिएपछि एसबिए नर्सिङ कर्मचारीहरुले भिडियो एक्सरेमार्फत बच्चा सुल्टो छ उत्टो छ, बच्चाको पेटमा पानीको मात्रा कस्तो छ र बच्चाको धड्कनको अवस्था पत्ता लगाउन लगाउन सक्छन् ।,’’ डा. घिमिरेले भन्नुभयो, ‘‘यसले डाक्टरको पहुँचबाट टाढा रहेका दुर्गमका गर्भवती महिलाहरुको समयमै जटिल समस्या पहिचान हुने र उपचारको खोजी हुँदा आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिनेछ ।’’
एसबिएले जटिल अवस्थाका गर्भवती पहिचान गरी व्यवस्थापन गर्ने र सो काम गर्न नसके रिफर गर्ने काम गर्दै आईरहेका छन् । महिलालाई गर्भावस्था, शिशु जन्मने बित्तिकै र सुत्केरी अवस्थामा सेवा प्रदान गर्ने एसबिएलाई तालिममा न्यूनतम ज्ञानमार्फत भिडियो एक्सरे गर्न दक्ष बनाइने छ । ‘‘तालिमपछि उहाँहरु आफैँले सुत्केरी आमाहरुको भिडियो एक्सरे गरेर बच्चाको अवस्था र सुत्केरी गराउन सहज हुन्छ हुँदैन, रिफर गर्नुपर्छ पर्दैन भनी पूर्व जानकारी लिन सक्षम हुने छन्’’ अस्पतालमा प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले भन्नुभयो ।
गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा कार्यरत छ जना महिला स्वास्थ्यकर्मीहरुले पहिलो चरणमा २१ दिने तालिम लिइ सकेका छन् । तालिममा बागलुङ, मुस्ताङ, नवलपरासी, स्याङ्जा, मनाङ र तनहुँ जिल्लाका बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स र अनमी सहभागी छन् । चालु आर्थिक वर्षमा धौलागिरि प्रादेशिक अस्प्तालमा तीन चरणमा तालिममा चल्ने प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखराले जनाएको छ ।
तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशमा मातृ मृत्युदर न्यूनीकरण गर्न र गर्भवती आमाको स्वास्थ्यमा सुधार ल्याउन तालिम साइट फलदायी हुने बताउनुभएको थियो ।
गण्डकी प्रदेशमा वर्षेनी एक सय ६१ आमाको ज्यान गाने गरेको हुँदा गाउँघरकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तालिम दिएर मृत्युदर कम गर्ने उद्देश्यले तालिम साइटको सुरुवात गरिएको मन्त्री पाठकको भनाइ थियो ।
तालिममा डा. प्रवीण घिमिरे, डा. राजीव रिजाल, नर्सिङ अधिकृतहरु मिलन बरुवाल र पुनम गौरोले सहजीकरण गरिरहनुभएको छ । तालिमपछि सहभागी कार्यरत स्वास्थ्य संस्थालाई अल्ट्रासाउन्ड सोनोग्राफी (युएसजि) उपकरण प्रदान गरिने केन्द्रका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिनुभयो ।