• २५ चैत २०८१, सोमबार

चौथो राष्ट्रव्यापी खुल्ला चेस पथरीशनिश्चरेमा

blog

हरिप्रसाद कोइराला
उर्लाबारी, चैत २५ गते ।
शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिकाको फ्रेण्डशिप चेस क्लबले आयोजना गर्ने प्रतियोगिता स्थानीय सीन भिलेज पार्टी प्यालेसमा हुनेछ । देशभरका दुई सय खेलाडीले सहभागि हुने अनुमान गरिएको प्रतियोगिताका विजेताले ५१ हजार नगदसहित ट्रफी पाउनेछन् ।

यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३५ हजार र २५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । खुलातर्फ १५ औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा विभिन्न चार इभेन्टमा खेल खेलाइनेछ । महिला, खुल्ला, बालबालिका र भेट्रान्सका खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अमीर राईले बताउनुभयो । राईका अनुसार प्रतियोगितामा पुरस्कारतर्फ तीन लाख ७५ हजार रुपियाँ नगद पुरस्कारमा खर्च हुनेछ । 

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन इच्छुक खेलाडीले दुई हजार रुपियाँ तिरेर सहभागिता जनाउन पाइनेछ । प्रतियोगिता आयोजना गर्न १३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।