• २६ चैत २०८१, मङ्गलबार

नेपाली फिल्म निर्माताले प्राविधिक सिप बढाउनु पर्छ : डा. दत्ता

blog

प्राध्यापक, चलचित्र समीक्षक तथा सम्पादक डा. रिता दत्ता अन्तर्राष्ट्रिय चलचित्र समीक्षक सङ्घको सदस्य हुनुहुन्छ । डा. दत्ताले कान्स, बुसान, केरला, ओसियनको सिनेफ्यान, नेपाल असवान, युक्रेन, औरङ्गाबाद, बैङ्लुरुलगायत धेरै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा जुरी सदस्यका रूपमा काम गरिसक्नुभएको छ । रवीन्द्र भारती विश्वविद्यालयबाट ‘सहर र सिनेमा’ शीर्षकमा विद्यावारिधि गर्नुभएकी उहाँसँग चलचित्र महोत्सवमाथि केन्द्रित भएर गोरखापत्रका लागि सुकृत नेपाल ले गर्नुभएको कुराकानी : 


० अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई कसरी हेर्नुहुन्छ, यसका समानता र भिन्नता के के छन् ?

महोत्सवका विभिन्न मापदण्ड हुन्छन् । कान्स, भेनिस र बर्लिन जस्ता ठुला अन्तर्राष्ट्रिय महोत्सव दशकौँदेखि स्थापित भइरहेका छन् । अहिले जुनसुकै महोत्सवलाई स्थापित गर्न वा ब्रान्ड बनाउन समय लाग्छ । विश्वका प्रतिष्ठित महोत्सव ५० वर्षदेखि चलिरहेका छन् तर नेपालमा भने अन्तर्राष्ट्रिय महोत्सव प्रारम्भिक चरणमा छ । बितेको आठ वर्षमा निफले राम्रो चर्चा पाएको छ । यसमा निर्माताको बढ्दो चासो छ र विश्वव्यापी रूपमा ध्यान आकर्षित गरेको छ ।

० महोत्सवमा सांस्कृतिक आदानप्रदानका कुरा कत्तिको महत्वपूर्ण हुन्छ ? 

महोत्सव हुनुका तीन मुख्य कारण छन् । यो युवा निर्माताका लागि राम्रो सिँढी हो । स्वतन्त्र निर्माता र युवा निर्देशक प्रायः दर्शकसम्म पुग्न सङ्घर्ष गर्छन् । जसले उनीहरूलाई विश्वव्यापी रूपमा आफ्नो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्दछ । यो चलचित्र समीक्षकका लागि सिकाइ र बुझाइको सञ्जाल पनि हो । महोत्सवले सांस्कृतिक तथा व्यावसायिक रूपमा चलचित्र क्षेत्रमा ठुलो भूमिका खेलेको छ । 

० नेपाली चलचित्रका बारेमा तपाईंको धारणा के छ ? यसमा सुधार गर्न र थप दर्शक आकर्षित गर्न के सल्लाह दिनुहुन्छ ?

नेपाली चलचित्रले अहिले राम्रो गति समातिरहेको छ जस्तो लाग्छ । ‘शाम्भाला’ बर्लिन र लोकार्नो अन्तर्राष्ट्रिय महोत्सवमा पुग्यो जुन ठुलो उपलब्धि हो । व्यावसायिक रूपमा ‘पुजार सार्की’ उत्कृष्ट छायाङ्कन भएर प्रभावशाली ठहरियो भने ‘आँखा’ जस्ता अन्य चलचित्रलाई हेर्दा नेपाली चलचित्रले प्रगतिको बाटो समातेको देखिन्छ । चलचित्रमा निर्माताले समकालीन, आधुनिक कथा र कथनमा ध्यान केन्द्रित गर्नु पर्छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्र बजारसँग तुलना गर्न थालिएको छ जुन प्राविधिक रूपमा उत्कृष्ट छन् । चलचित्रमा गम्भीर शैली सिर्जना गर्न चाहने निर्माताले आफ्नो प्राविधिक सिप बढाउनु पर्छ । जहाँ निर्माताले विश्वव्यापी प्रविधि र आफ्नो अवस्था बुझ्न सक्छन् । 

० चलचित्र समीक्षा र समीक्षकले सुधार गर्नुपर्ने कुरा केही छन् कि ? 

चलचित्र समीक्षा भनेको केवल नराम्रो पक्ष मात्र हेर्ने होइन । यहाँ समीक्षकहरू चलचित्रको राम्रो पक्ष कम र नराम्रो पक्ष धेरै हेर्छन् जुन एकदमै गलत हो । निर्माता तथा निर्देशकले एउटा चलचित्र बनाउन कति मेहनत गरेका हुन्छन् त्यो कसैले सोच्दैन । चलचित्रको समीक्षा गर्नु भनेको राम्रो र नराम्रो दुवै पक्षलाई समेट्नु हो । अर्को कुरा चलचित्रको समीक्षा गर्दा कहिले पनि त्यसको रेटिङ दिनु हुँदैन । चलचित्र भनेको मनोरञ्जनका लागि हेर्ने हो । सर्वप्रथम चलचित्रलाई रेटिङ किन दिइन्छ त्यो थाहा पाउनु जरुरी छ । त्यसैले मेरो विचारमा चलचित्र हेरिसकेपछि त्यसको राम्रो पक्षलाई धेरै केलाउँदा एउटा निर्माता तथा निर्देशकले आफ्नो कामको फल पनि पाउँछ र चलचित्र पनि राम्रो चल्छ ।

० दक्षिण भारतीय चलचित्रले बलिउडलाई ओझेलमा पारेको भन्ने छ, त्यो सत्य हो ?

यसमा सत्यता छ । यद्यपि म तिनीहरूलाई केवल दक्षिण भारतीय चलचित्रका रूपमा वर्गीकृत गर्दिनँ किनभने दक्षिण भारतमा तेलुगु, कन्नड, मलयालम र तमिलसहित चार फरक चलचित्र क्षेत्र छन् । प्रत्येकको आफ्नै कथन र निर्माणशैली छ । अहिले दर्शक यथार्थपरक कथा खोज्छन् । दक्षिण भारतीयमा मलयालम चलचित्र सबैभन्दा चर्चामा छ, त्यसपछि तमिल र अन्य छन् । तिनीहरूले अन्तर्राष्ट्रिय मापदण्डसँग मिल्ने समकालीन कथा उत्पादन गर्छन् । त्यसैले पनि उनीहरू माथि छन् ।