• २५ चैत २०८१, सोमबार

नाडा र नाइमाबिच समन्वय र सहकार्य गर्ने समझदारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २५ गते । सवारीसाधनका व्यवसायीहरूका संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र हालै दर्ता भएको सोही क्षेत्रको संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्राक्चर्स एसोसिएसन (नाइमा) बिच अटोमोबाइलका क्षेत्रमा आपसी समन्वय र सहकार्य गर्ने समझदारी भएको छ । 

नाडामा आबद्ध व्यवसायी नै मिलेर नाइमा गठन गरेपछि अटोमोबाइल व्यवसायीमा फुट आएको सन्देश प्रवाह भएको थियो । आइतबार दुवै संस्थाका अध्यक्षबिच सहअस्तित्वमा अटोमोबाइल क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । 

आइतबार नाडाका अध्यक्ष करण चौधरी र नाइमाका अध्यक्ष रितुसिंह वैद्यले भेट गरी संयुक्त सहकार्य र सहअस्तित्वमा रहने समझदारी गरेका हुन् । 

नाडाका अध्यक्ष करण चौधरीले सवारी उत्पादन तथा आयातका क्षेत्रमा क्षेत्रगत लक्षित काम गर्ने गरी नाडाकै सदस्य मिलेर संस्था दर्ता गरेको र संस्था नफुटेको बताउनुभयो । “अटोमोबाइल व्यवसायीबिच फुट आयो भन्ने गलत सन्देश प्रवाह भएको थियो तर त्यसो भएको होइन,” उहाँले भन्नुभयो, “सवारी आयात तथा उत्पादन क्षेत्रमा निजी क्षेत्रको बलियो उपस्थितिका लागि नाइमा आएको हो यसले समग्र अटोमोबाइल क्षेत्रको हित गर्ने छ ।” नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए ता पनि यसको कार्य क्षेत्र उद्योग र सरोकारवालाको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने बताइएको छ ।

नाइमाका अध्यक्ष रितुसिंह वैद्यले सवारीसाधन आयात तथा उत्पादन क्षेत्रमा विशिष्टीकृत संस्थाका रूपमा नाडासँगै रहेर काम गर्ने बताउनुभयो ।