• २५ चैत २०८१, सोमबार

कोदो उत्पादन बढाउन भेडादौड

blog

हरिकृष्ण ऐडी 

मुगु, चैत २५ गते । मुगुमा चैत लागेसँगै मुगुको ग्रामीण क्षेत्रका किसानलाई कोदो बालीमा भेडाबाख्रा दौडाउन थालिएको छ । उत्पादन राम्रो हुने भन्दै कोदोको बिउ छरेको दिन भेडाबाख्रा दौडाउने गरिएको हो । 

यहाँ बाहिरबाट आयात गरिने चामलपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न बाली कोदो हो । छायानाथ रारा नगरपालिका–६ का किसान देवीलाल भ्यालका अनुसार हिमाली जिल्लामा कात्तिके बाली कोदो, आलु र भुवाधान (सुक्का जमिनमा लगाउने धान) चैत मसान्तसम्म पाखो जमिनमा बिउ छरेपछि उक्त बाली कात्तिकसम्म पाक्ने गर्छ ।

उहाँले भन्नुभयो, “पुरुषभन्दा प्रायः महिला कोदो बाली उत्पादनमा सक्रिय हुने गरेका छन् । गाउँमा रोजगारी नहुँदा यहाँका पुरुष भारतमा गएकाले कोदो उत्पादनमा महिलाको संलग्नता बढी हुने गरेको छ ।” बिहानदेखि बेलुकासम्म कोदोको बिउ छर्ने र कोदो छरेको दोस्रो दिन जग्गामा बाली उत्पादनमा राम्रो बनाउन जग्गामा भेडाबाख्रा दौडाउने काम भइरहेको छायानाथ रारा नगरपालिका–६ की किसान रूपकला बोहराले बताउनुभयो । उहाँले कात्तिकमा पाक्ने कोदो चैत मसान्तभित्र आलु र भुवाधान जग्गामा छर्ने र राम्रो उत्पादन गराउन भेडाबाख्रा दौडाउने जनाउनुभयो । 

हिमाली जिल्लाको मुख्य बाली कोदो रोप्ने समय चैत महिना भएकाले अन्य समयमा रोप्दा उब्जाउ कम हुने विश्वास छ । कोदो छर्न ढिलाइ गर्दा राम्रोसँग फल्दैन । स्थानीय महिला दिनरात कोदो लगाउने जग्गामा ढुङ्गा र माटो केलाउने, उखेल्ने र मल लगाउने काममै व्यस्त हुने गरेको बोहोराले बताउनुभयो ।