• २५ चैत २०८१, सोमबार

शीतभण्डारले कृषक उत्साहित

blog

रामपुर समाचारदाता 

रामपुर (पाल्पा), चैत २५ गते । रामपुर नगरपालिका–५ का सुशील ढुङ्गानाले विगतमा उत्पादन भएको आलु खन्नासाथ बिक्री गर्दै आउनुभएको थियो । पछिल्लो समय उत्पादन भएको आलु बेमौसममा राम्रो मूल्यमा बिक्री गर्दै आउनुभएको छ । 

चार वर्षदेखि रामपुर–५, बेझाँडमा शीतभण्डार सञ्चालनसँगै उहाँले सिजनमा आलु भण्डारण गरी  बेमौसममा खान तथा बिउ आलु बिक्री गर्दै आउनुभएको हो । भण्डारणको सुविधा भएपछि तीन/चार रोपनीमा आलु खेती गर्दै आएका ढुङ्गानाले अहिले आठ रोपनीभन्दा बढीमा आलु खेती गर्दै आएको बताउनुभयो । उहाँले ४५ बोरा आलु बिउ तथा खानका लागि भण्डारण गर्नुभएको छ । 

रामपुर नगरपालिकाले शीतभण्डार सञ्चालनमा ल्याएपछि भण्डारणको सुविधाले पछिल्ला वर्ष यहाँका कृषक उत्साहित भएका छन् । गत वर्ष १७० मेट्रिक टन आलु भण्डारण गरिएको शीतभण्डारमा यस वर्ष कृषक समूह, सहकारी र कृषक गरी ६८२ जनाको २१० मेट्रिक टन आलु भण्डारण गरिएको छ । भण्डारणका लागि केही आलु अन्य पालिकाका कृषकले ल्याए पनि अधिकांश रामपुर नगरभित्रकै कृषकको उत्पादन रहेको रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । 

शीतभण्डारमा प्रतिकृषकको विश्वास बढेको र यस वर्ष आलु उत्पादन वृद्धि भएका यस वर्ष अहिलेसम्म कै धेरै आलु भण्डारण भएको गैरेले बताउनुभयो । पहिलो वर्ष प्राविधिक समस्याका कारण शीतभण्डारको आलु टुसाएको थियो । दोस्रो र तेस्रो वर्ष भण्डारण गरिएको आलु राम्रो भएपछि कृषकमा विश्वास बढेको हो । प्रतिकिलो छ रुपियाँका दरले किसानसँग भण्डारण शुल्क लिएर राख्ने गरिएको कृषि प्राविधिक युवराज नेपालीले बताउनुभयो । आलु राख्ने स्थान भरिएपछि गत सोमबारदेखि खुला गरिएको शीतभण्डार बिहीबार बन्द गरिएको छ । 

नगरप्रमुख रमणबहादुर थापाले रामपुर क्षेत्रमा आलु धेरै उत्पादन हुने भएकाले तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन गरिएको बताउनुभयो ।