• २५ चैत २०८१, सोमबार

नेपालको खाद्य परीक्षण भारतमा मान्य

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २५ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तरकारी, फलफूल तथा खाद्यवस्तुमा गरिने आफ्नो परीक्षणलाई भारतले मान्यता दिने निर्णय गरेको जनाएको छ । नेपालस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत भारतको खाद्य सुरक्षा एवं मानक प्राधिकरणले नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणलाई मान्यता दिने निर्णय गरेको जानकारी दिएको हो । 

यस निर्णयसँगै नेपालको खाद्य विभागले जारी गरेको परीक्षण प्रतिवेदनलाई अबदेखि भारतले खाद्य पदार्थ आयात गर्दा स्वीकार गर्ने छ । दूतावासका अनुसार अबदेखि जुस, अदुवा, अचार, चकलेट, फलफूल, तरकारी तथा तयारी चाउचाउको हकमा विभागले जारी गर्ने रिपोर्टलाई भारतीय पक्षले मान्यता दिने छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भारतको प्रयोगशालाले नेपालबाट खाद्यवस्तु आयात गर्दा आफ्नै प्रयोगशालामा परीक्षण गरेर मात्रै लिने गरेकोमा अब भने खाद्य विभागको केन्द्रीय प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदनलाई मान्यता दिने निर्णय गरेको जानकारी दिनुभयो । 

नेपालको धेरै प्रयासपछि मात्रै यो सम्भव भएको भन्दै उहाँले भारतमा निर्यात गर्ने वस्तुको गुणस्तर परीक्षण गर्दा भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणको मापदण्ड अनुसार हाम्रो प्रयोगशालाको स्तरोन्नति गरिसकेकाले खाद्य विभागको केन्द्रीय प्रयोगशालाले मान्यता पाएको जानकारी दिनुभयो । नेपालबाट तोकिएका वस्तु भारत निर्यात गर्न चाहने जोसुकै निर्यातकर्ता व्यापारीले विभागको प्रयोगशालामा परीक्षण गराएर वस्तु निर्यात गर्न सक्ने विभागले जनाएको छ । नेपालले जारी गर्ने प्रतिवेदन भारतीय पक्षले स्वीकार गर्ने भएपछि अबदेखि नेपालबाट हुने कृषि उत्पादनको निर्यात बढ्ने विभागको दाबी छ । भारतबाट नेपालमा तरकारी, फलफूल र अन्य खाद्यवस्तु बिनापरीक्षण नेपाल भित्रिन्छ तर नेपालबाट भारतमा जाने सामानका गुणस्तर परीक्षण गर्न खाद्य विभागको परीक्षणलाई मान्यता पाउने निर्णय भएको छ ।