माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), चैत २४ गते । केपी ओली कप राष्ट्रिय खुला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा सिइसी काठमाडौँ र हेटौँडा स्पोट्र्स एकेडेमी विजयी भएका छन् ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी खेलमा प्रतियोगिताको समूह ‘ए’ बाट दुई खेलमा जित निकाल्दै काठमाडाैँले सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । १ सय २७ रनको विजयी लक्ष्य पाएको काठमाडौँले १४ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै १ सय २७ रन पूरा गर्याे । त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रन बनायो ।
आइतबारको पहिलो खेलमा पोखरा महानगर क्रिकेट क्लब विरूद्धको खेलमा हेटौडा विजयी बनेको छ । आइतबार भएको पहिलो खेलमा हेटौँडाले पोखरा महानगरपालिकालाई ४ विकेटले पराजित गरेको हो । घरेलु मैदानमा पोखराकोे दोस्रो पराजय हो । पोखरा पहिलो खेलमा स्याङ्जासँग पराजित भएको थियो । समूह ‘ए’को खेलमा पहिलो दिन काठमाडौँसँग हारेको हेटौँडाले पोखरा महानगरलाई पराजित गर्दै २ अङ्क जोड्न सफल भएको छ । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पोखरा महानगर १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमा समेटियो ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिता वैशाख ५ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ दी सिरिजले नगद ३० हजार, बेस्ट बलर, बेस्ट ब्याटरले जनही नगद १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ ।