बाबुराम आचार्यको जन्म विसं १९४४ फागुन २९ काठमाडौँको गौचर सिनामङ्गलमा भएको थियो । उहाँ पिता धर्मदत्त आचार्य र माता शिवकुमारी आचार्यका उहाँ सन्तान हुनुहुन्थ्यो । ज्योतिष र व्याकरणमा सम्पूर्ण मध्यमा गर्नुभएका उहाँको धेरै समय इतिहास अन्वेषण र लेखनमा बित्यो । विसं १९६३ मा सुन्दरी पत्रिकामा छापिएको ‘मानिनी विलास’ उहाँको पहिलो प्रकाशित लेख र तुलनात्मक सुन्दर काण्ड (समालोचना २००२) पहिलो कृति मानिन्छ । पुराना कवि र कविता (२००३), चीन तिब्बतसँग नेपालको सम्बन्ध (२०१३), नेपालको सङ्क्षिप्त वृत्तान्त (खण्ड १, २०२२), श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी (भाग १–४, २०२४–२६), नेवाः, नेवा भाय् व संस्कृति (नेसं १०९९), नेपालको सांस्कृतिक परम्परा (२०५४), अब यस्तो कहिल्यै नहोस् (२०५५), चीन–तिब्बत र नेपाल (२०५९), श्री ५ प्रतापसिंह शाह (२०६०), प्राचीनकालको नेपाल (२०६०), नेपाल सङ्क्षिप्त वृत्तान्त (२०६३), जनरल भीमसेन थापा : यिनलाई मैले जस्तो देखेँ (२०६५), जनरल भीमसेन थापा : यिनको उत्थान तथा पतन (२०६९) आदि उहाँका प्रमुख प्रकाशित कृति हुन् ।
इतिहास महत्वपूर्ण विषय हो । अधिकांश काममा इतिहासको महìवपूर्ण भूमिका रहन्छ । इतिहास बङ्ग्याइए देश वा जातिका लागि समग्र इतिहास नष्ट हुन सक्छ । यो तथ्य राम्रोसँग मनन गर्नुभएका बाबुराम आचार्यले नेपाली इतिहास लेखनमा महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँको मुख्य साधनाको क्षेत्र नै इतिहास लेखन हो । नेपालका इतिहास सम्बन्धमा अन्य विद्वान्ले पनि काम गर्नुभएको छ तर बाबुराम आचार्यको काम सबैभन्दा महत्वपूर्ण छ । यही कारण उहाँलाई इतिहास शिरोमणिको पदवी दिइएको हो । उहाँ शिक्षक पनि हुनुभयो । नेपालमा २०१० सालमा गठन भएको पहिलो शिक्षा आयोगमा पनि उहाँ सदस्य हुनुभएको थियो । उहाँका आधुनिक नेपालको इतिहाससम्बन्धी विभिन्न लेख पत्रपत्रिकामा प्रकाशित छन् । १९९६ सालमा प्रकाशित ‘नेपालमा लिच्छवि राजाहरूको काल गणना’ उहाँको इतिहाससम्बन्धी पहिलो लेख हो । उहाँले आफ्नो देशको इतिहासको खोजी गर्न हामी आफैँ सक्षम छौँ भन्ने भाव जागृत गराएको विश्वास गरिन्छ । इतिहासका विभिन्न पाटाबारे खोज अनुसन्धानका साथै व्याख्या विश्लेषण गर्नु अति महत्वपूर्ण कार्य हो । यो काम जो पायो त्यसले गर्न सक्दैन । बाबुराम आचार्यले त्यो काम बडो मेहनतका साथ गर्नुभयो ।
संसारको सबैभन्दा अग्लो उच्च हिमालयको नाम एभरेस्ट प्रचलनमा रहेकोमा नेपाली भाषामा सगरमाथा नाम राख्नुमा उहाँको विशेष योगदान थियो । १९९८ सालतिर उहाँको आँखा ज्यादै कमजोर भएको बहानामा खाइरहेको खरिदारको जागिर खोसिएको थियो । २०२८ सालको अन्त्यतिर त्यसबेलाको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा मानार्थ सदस्यका रूपमा नियुक्ति भएर काम गर्न थाल्नुभएको थियो । नेपाली इतिहासको गहन अध्ययन, विश्लेषण र लेखन गरेबापत २००८ सालमा ‘इतिहास शिरोमणि’ को पदवी दिइएको थियो । नेपाली इतिहास लेखनमा विशिष्ट योगदान पुर्याउनुभएका उहाँलाई २०२० सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । आँखा नदेख्ने भएर पनि इतिहाससम्बन्धी काममा लागिरहेका बखत उहाँको २०२९ साल भदौ २२ गते काठमाडौँमा निधन भयो ।