बोमलाल गिरी
नवलपुर, चैत २४ गते । कावासोती नगरपालिका–११, कुंडौलीका थनुराम थनेतको घर शनिबार आगलागीमा परेर पूरै नष्ट भयो । त्यसैदिन कावासोती–१७ गोछडाका सोहाना चौधरीको एक तले घर जलेर नष्ट भयो । त्यस्तै, शुक्रबार हुपसेकोट–४ शंखदेवका रनबहादुर राईको घर जल्यो । सोही दिन बिनयी त्रिवेणी–२ तामाङ टोलका नविन पुनको दुई तले घर आगोले सखाप पार्यााे भने बिहीबार गैँडाकोट–१ का श्रीप्रसाद न्यौपानेको घर गोठ जल्यो ।
नवलपुरमा चैत लागेलगत्तै आगलागीका घटना बढिरहेका छन् । यो महिना मात्र नौ वटा आगलागीका घटना भएका छन् भने आगलागीमा परेर चालु आर्थिक वर्षमा तीन जनाको मृत्यु भएको र आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार नौ महिनामा भएका ४२ वटा आगलागीका घटनाबाट एक करोड ३८ लाख रुपियाँको क्षति भएको छ ।
तर जिल्लामा एउटा पनि दमकल नहुँदा नागरिकका घर जलेर नष्ट भएका छन् । जिल्लामा रहेको एउटा मात्र दमकल बिग्रेका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको प्रहरीको भनाइ छ । ठुला आगलागीका घटना भएमा नियन्त्रणका लागि चितवनबाट दमकल बोलाउनुको विकल्प नरहेको कावासोती–११ का अध्यक्ष शारदा अधिकारीले बताउनुभयो । चितवनबाट दमकल मगाएर पहाडसम्म पुर्याउँदा नागरिकका घर नष्ट भइसकेका हुन्छन् ।
नवलपुरको कावासोती नगरपालिकामा रहेको एक मात्र दमकल बिग्रिएपछि समयमै आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीको भनाइ छ । दमकल नभएपछि स्थानीयले बाल्टिन, ड्रम र नालाबाट पानी ओसार्दै आगो निभाउने प्रयास गरे पनि सफल हुन सकेको छैन ।
“कावासोती नगरपालिकाको दमकल बिग्रिएर मर्मतको काम भइरहेको रहेछ,” अध्यक्ष अधिकारीले भन्नुभयो, ‘‘आगलागीको सूचना पाएपछि दमकल बोलाउने प्रयास भए पनि भरतपुरबाट बोलाइएको दमकल ढिला आएका कारण थनेतको घरमा लागेको आगो निभाउन सकिएन ।’’
कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बिग्रेको दमकल मर्मतको प्रयास भइरहेको बताउनुभयो । दमकल मर्मतको क्रममा आवश्यक पर्ने प्राविधिक र उपकरण स्थानीय बजारमा सहज रूपमा उपलब्ध नहुँदा पनि मर्मत कार्यमा ढिलाइ भएको प्रमुख भुसालको भनाइ छ ।
जिल्लामा पटक–पटक हुने आगलागीका घटनामा प्रभावकारी नियन्त्रण नहुँदा जनधनको ठुलो क्षति हुने गरेको छ । पहाडी पालिकाहरुमा एउटा पनि दमकल नहुँदा आगलागीको समस्या जटिल बरिहेको छ । आठवटा स्थानीय तह रहेको नवलपुरका अरु पालिकाहरूले बजेट अभावका कारण दमकल किन्न नसकेको बताएका छन् ।