वासुदेव शर्मा
जाजरकोट, चैत २४ गते । भूकम्पपछि सरकारले जाजरकोट जिल्लालाई सङ्कटापन्न क्षेत्र घोषणा गरेको छ । जिल्लाको भूकम्प प्रभावित क्षेत्र सात वटै स्थानीय तहका ग्रामीण बस्तीमा खडेरी बढेसँगै पानीका मुहान सुक्न थालेपछि समस्या बढेको छ ।
बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु भई २०८० साल कात्तिक १७ गते गएको भूकम्पले भौतिक संरचना, खानेपानीमा क्षति गरेपछि सरकारले सङ्कटापन्न क्षेत्र घोषण गरिए पनि आवश्यक बजेट व्यवस्थापन नगरेपछि समस्या बढ्दै गएको हो । भूकम्पले खानेपानीका मुहानमा क्षति गरेपछि ग्रामीण बस्ती काकाकुल बनेको छ । सात वटा स्थानीय तहमा करिब ८५ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेका गाउँमा भूकम्पका कारण मुहान भासिएपछि ग्रामीण बस्तीमा हाहाकार भएको छ । करिब पाँच किलोमिटर टाढाका मुहानबाट घरआँगनमै पानी खान पाएका जनता अहिले पानी आउन छोडेपछि समस्यामा परेका छन् ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख मङ्गल शाहीका अनुसार सात वटा स्थानीय तहका जनताले एक अर्ब छ करोड बजेट माग गरिएको छ । स्थानीय जनताले माग गरेको रकम प्रदेश, तथा सङ्घीय सरकारबाट प्राप्त नभएपछि समस्या भएको छ । भूकम्पछि पानीको समस्या भोगेका गाउँबस्तीमा तत्काल राहत दिन ५० लाख बजेटबाट फिटिङ, पाइप, भूकम्पीय सरसफाइका सामग्री आवश्यकताका आधारमा वितरण गरिएको थियो । उहाँका अनुसार सात वटा स्थानीय तहका विभिन्न १४ वटा स्किममा खानेपानी शुद्धस्करण गर्न थालिएको छ ।