• २५ चैत २०८१, सोमबार

भूकम्पको क्षति बिर्सन नपाउँदै पुनः भूकम्प

blog

वासुदेव शर्मा 

जाजरकोट, चैत २४ गते  । गत वर्ष कात्तिक १७ गतेको भूकम्पको क्षति बिर्सन नपाउँदै शुक्रबार साँझ तीन मिनेटको फरकमा कुसे गाउँपालिका–९, पैङ्क केन्द्रविन्दु भएर भूकम्प गएपछि जाजरकोटवासी त्रसित छन् । शुक्रबार राति ८:७ बजे र ८:१० मिनेटमा ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएपछि सर्वसाधारण त्रसित भएका हुन् ।

लगातार दुई पटक भूकम्प गएपछि गत वर्ष चर्किएका घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन् । कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा चर्किएका घर शुक्रबारको भूकम्पले भत्किएका छन् । 

भेरी नगरपालिका–३ का तेजविक्रम शाहका अनुसार गत वर्ष भूकम्पले दिएको पीडा बिर्सन नपाउँदै शुक्रबार राति गएको भूकम्पले त्रसित भएका छन् । आवासविहीन भएपछि टहराको बासमा बसेर श्रम रोजगारीबाट बिहानबेलुकाको छाक टारेका सर्वसाधारण समस्यामा परेका हुन् । भूकम्पका कारण आवासविहीन जनताको टहराको बसाइ छ । सरकारले दिएको टहरामा ठुलो परिवारलाई पर्याप्त नहुँदा चर्किएका घरमा फर्किएका थिए । अहिले चर्किएका घर बस्न नमिल्ने बनाएपछि जनता त्रसित भएका छन् । 

भूकम्पको केन्द्रविन्दु मानिएको पैङ्कमा भने नयाँ घर पनि चर्किएका छन् । स्थानीय पुनः भूकम्प आउने त्रासमा घरबाहिरै बसेका कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो । त्यहाँ घरहरू चर्किए पनि मानवीय क्षति नभएको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “केही नयाँ घर चर्किएका छन् । फेरि भूकम्प जाने डरले स्थानीय घरबाहिरै बसेका छन्, क्षतिको यकिन विवरण भने आएको छैन ।”

भेरी नगरपालिका–४ का शान्तबहादुर बस्नेतले हिउँदको चिसो सिरेटो बर्खाको बाढीपहिरो, चैत, वैशाखको गर्मी छल्न नसकी चर्किएका घरमा बस्दै आएका सर्वसाधारणलाई सरकारले घर बनाउने भने पनि भूकम्प गएको १७ महिना बित्दा पुनर्निर्माणको काम अघि नबढाएर ढिलासुस्ती गरेपछि जनताले दुःख पाएको बताउनुभयो ।

श्रम रोजगारी गरी जीविकोपार्जन गरेका जनता हिउँदको चिसोले सताउन थालेपछि चर्किएका घरमा फर्किएका थिए । चैत २२ गते साँझ दुई पटक भूकम्प गएपछि घर छोडेर टहराले परिवारलाई नपुगेपछि खुला आकाशमा त्रिपाल लगाएर बसेका छन् । कतिबेला फेरि भूकम्प आउँछ भन्ने त्रसित बनेका छन् । 

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीका अनुसार गत वर्षको भूकम्पले चर्किएका घर भत्किए पनि मानवीय क्षति नभएको बताउनुभयो । भूकम्पले पु¥याएको क्षति बिर्सन नपाउँदै पुनः भूकम्पको धक्काले जनतामा डरत्रास सिर्जना भएको छ । भूकम्पबाट क्षतिग्रस्त बस्न नमिल्ने घर तत्काल छोडेर सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ । 

२०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको मृत्यु हुनुका साथै जनधनको ठुलो क्षति भएको थियो ।