• २५ चैत २०८१, सोमबार

म्यानमारमा एक हप्तामा ८१ परकम्प

blog

याङ्गुन, चैत २४ गते । म्यानमारमा एक हप्तामा २.८ देखि ७.५ म्याग्निच्यूडका ८१ वटा परकम्प गएको म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ ।

यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ ।

विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।

संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यानमारमा को मण्डाले सहरमा पीडितहरूसँग भेट गरेका छन् । मण्डाले भूकम्पको केन्द्र नजिकैको सहर हो र यहाँका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । रासस/एएफपी