यामराज बिष्ट
पञ्चकोशी (दैलेख) चैत २४ गते । दैलेखको गुराँस गाउँपालिकाले फलामको चुलो वितरण गरेको छ । गाउँपालिकाले दलित तथा अति विपन्न गुराँस गाउँपालिका–३ र ४का एक सय घर परिवारलाई सुधारिएको फलामको चुलो वितरण गरेको हो ।
निम्न आयस्तर भएका दलित समुदायको स्वास्थ्यको ख्याल गर्दै गाउँपालिकाले फलामको चुलो वितरण गरिएको गराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताउनुभयो । उहाँले वर्षौदेखि परम्परागत चुलो प्रयोग गर्दा श्वासप्रश्वास रोग बढ्दै गएकाले धुवा मुक्त गर्ने उद्देश्यले पालिकालले फलामको चुलो वितरण गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष बिसीले भन्नुभयो, “आर्थिक अभावले चपेटामा परेका दलित समुदायलाई निकै सास्ती थियो । अहिले निःशुल्क रुपमा धुवाँरहित चुलो वितरण गरेपछि नागरिकलाई धुवाँको समस्याबाट मुक्ति मिलेको छ ।”
नागरिकका स्वास्थ्यमा सुधार हुने तथा समाज स्वच्छ हुनाका साथै वातावरणमा समेत सुधार हुने अपेक्षा लिइएको गुराँस गाउँपालिका–४का वडाध्यक्ष खड्कबहादुर शाहीले बताउनुभयो । उहाँले आवश्यकताअनुसार अन्य परिवारहरूलाई पनि आगामी दिनमा चुलो वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।
फलामे चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको स्थानिय कुलबिर बिकले बताउनुभयो । उहाँले फलामे चुलो पाएपछि निकै सहज हुने बताउनुभयो । वर्षौदेखि धुवासहीतको पुरानो चुलोमा खाना पकाउँदै आएकोमा आधुनीक चुलो पाएपछि निक्कै खुसी भएको कुलबिरको भनाइ छ ।