लमजुङ समाचारदाता
लमजुङ, चैत २४ गते । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएको छ । यससँगै मौलिक संस्कृति संरक्षणमा युवापुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको छ । पूजापाठ तथा धार्मिक कार्यक्रममा भजन, चुट्का, बालन गाउने र विभिन्न किसिमका नृत्य प्रदर्शन गर्ने चलन धेरै पहिलेदेखि चल्दै आइरहेको छ तर पछिल्लो समय लमजुङका गाउँघरमा यो संस्कृति ओझेलमा मात्र परेको छैन, बिस्तारै लोप हुने स्थितिमा पुगेको देखिन्छ ।
शिवरात्रि, बालाचतुर्दशी, हरिबोधनी एकादशी, सत्यनारायण पूजालगायत धार्मिक उत्सवमा आयोजना गरिने भजनकीर्तनबाट पुण्य मिल्ने मध्यनेपाल जिता निवासी चन्द्रकान्त पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “भजनकीर्तनमा पौराणिक कथाका पात्रको महिमा तथा चरित्र वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ ।
देवीदेवताको गुणगानमा केन्द्रित यस्ता भजनकीर्तनको रौनकले मनमा शान्ति मिल्ने र दिन कटाउनसमेत सजिलो हुने गरेको बुढापाकाको अनुभव छ तर पछिल्लो पुस्ता यसप्रति उदासीन हुँदा भजन संस्कृति नै लोप हुने हो कि भन्ने चिन्ता भएको कुलप्रसाद पौडेलले बताउनुभयो । वरपर छरछिमेकका मानिस जम्मा भएर धार्मिक भाव झल्किने भजन गाउँदै एकअर्कामा सुखदुःखसमेत साटासाट गर्दा बैग्लै आनन्द महसुस हुने गरेको स्थानीयवासी बताउँछन् ।
लोकसाहित्यको महत्वपूर्ण पक्ष मानिने भजन संस्कृतिलाई संरक्षण गर्न युवापुस्ताले पनि तदारुकता देखाउनुपर्ने सरोकारवाला बताउँछन् । पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहमा पनि भजन संस्कृतिका झलकहरू देखाउने गरिएको छ । भजनकीर्तनमा शिव महिमा, बालन, महाभारत जस्ता धार्मिक कथालाई गीतका रूपमा गाइन्छ । सृष्टिदेखिका भगवान्का लीला र अवतारको वर्णन भजनमा प्रस्तुत गरिन्छन् । देवीदेवताको गुणगानमा केन्द्रित भजनकीर्तनको रौनकले थकाइबिना रात र दिन सजिलै कटाउने गरेको बुढापाकाको अनुभव छ । यद्यपि पछिल्लो पुस्तामा यसप्रतिको आकर्षण घट्दै जाँदा भजन संस्कृति लोप नै हुने हो कि भन्ने अग्रजहरूको चिन्ता छ ।