भक्तपुर, चैत २४ गते । सीमित जनशक्तिबाट संसारमै कम खर्चमा उपचार सेवा दिइरहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म ३३ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
देशमा हालसम्मै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्न सफल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको उक्त केन्द्र कलेजो प्रत्यारोपण गर्नेमा पनि पहिलो नम्बरमा रहेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आर्थिक रूपमा सक्षम मानिस अझै पनि भारतलगायतका देशमा गएर मिर्गौला प्रत्यारोपण गरिरहेको तर बाहिर गएर प्रत्यारोपण भएका केसहरू फेल हुने गरेको बताउनुभयो । “भारतलगायतका देशमा गएर अर्काको मिर्गौला किनेर प्रत्यारोपण गर्नुपर्ने हुन्छ,” डा. श्रेष्ठले भन्नुभयो, “आफ्नो नाताभन्दा बाहेकका व्यक्तिको मिर्गौला लिनु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो होइन ।” अन्य व्यक्तिको मिर्गौला लामो समयसम्म नटिक्ने उहाँको भनाइ छ ।
डा. श्रेष्ठका अनुसार केन्द्रमा पछिल्लो पटक चितवनका ३९ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण सफल भएको छ । गत १२ चैतमा कलेजो प्रत्यारोपण भएपछि आठौँ दिनमा उहाँ डिस्चार्ज भइसक्नुभएको छ ।
उहाँलाई ३७ वर्षीय आफ्नै श्रीमतीले कलेजो दान गर्नुभएको थियो । कलेजो दान गर्ने श्रीमती छैटौँ दिनमै डिस्चार्ज भइसक्नुभएको छ । देशकै पहिलो कलेजो प्रत्यारोपण गर्ने शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले देशको नियमित दुईतिहाइ कलेजो प्रत्यारोपण गर्ने गरेको जानकारी दिँदै केन्द्रमा १५ देखि २० लाख रुपियाँसम्ममा कलेजो प्रत्यारोपण हुने बताउनुभयो । उहाँले कलेजो प्रत्यारोपणको यो खर्च संसारमै सबैभन्दा कम भएको दाबी गर्नुभयो ।
डा. श्रेष्ठका अनुसार २२ मङ्सिर २०७३ मा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । सरकारमातहत रहेको उक्त केन्द्रले पछिल्लो एक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण भने वार्षिक २०० जनाको हुने गरेको छ ।
डा. श्रेष्ठले केन्द्रको आफ्नो भवन नभएका कारण समस्या भएको बताउनुभयो । सीमित जनशक्ति भएर पनि देशकै सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्न सफल भएको केन्द्रलाई सरकारले उपयुक्त जग्गा उपलब्ध गराए आफ्नै स्रोतबाट तीन सय शय्याको अस्पताल बनाउने योजना रहेको उहाँ बताउनुहुन्छ ।
उहाँले ठुलो सङ्ख्यामा मिर्गौला र कलेजो प्रत्यारोपण गरिरहेको केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । जनशक्ति र स्थान उपलब्ध भए हाल भइरहेकोभन्दा मिर्गौला र कलेजो प्रत्यारोपणमा तीन सय गुणाले वृद्धि गर्न सकिने उहाँ बताउनुहुन्छ । नेपालमा हाल वार्षिक तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारले केन्द्रलाई प्राथमिकता राखेर सहयोग गरिरहेको जानकारी दिनुभयो । केन्द्रले भनेजस्तो जग्गा स्वास्थ्य मन्त्रालयले मात्र दिन नसक्ने भन्दै उहाँले त्यसका लागि प्रधानमन्त्रीस्तरबाटै पहल हुनुपर्ने सचिव डा. देवकोटा बताउनुहुन्छ ।