• २२ चैत २०८१, शुक्रबार

हराएको खुसी (कथा)

blog

आँसु झार्दै टक्रुक्क बसेको रोहनलाई साथीहरूले जुरुक्क उठाएर काँधमा बोके र आकाशतिर उचाले । मैदान घुमाए । उसले पनि जितको खुसियाली मनाउन थाल्यो । अब भने रोहनले पढाइसँगै साथीहरूसँग घुलमिल हुन पनि सिकेको छ ।

रोहन कक्षा ९ मा पढ्थ्यो । उसको घर सहरको मुख्य बाटोको छेउमा थियो । उ अलिक लजालु स्वभावको थियो । प्रायः एक्लै बस्न रुचाउँथ्यो । कहिल्यै साथीभाइ, छरछिमेककोमा निस्कँदैनथ्यो । यहाँसम्मकी उसलाई पढाइबाहेक अरू रमाइला कुरा हुन्छन् भन्नेसम्म पनि थाहा थिएन । उ सँधै पढिरहन्थ्यो । पढ्न मन नलागे पनि उसलाई समय बिताउनका लागि पढ्नै पथ्र्यो । यसो गर्दा उसको परीक्षामा राम्रो अङ्क पनि आउँथ्यो ।

उसको स्कुलमा खेलकुदका कार्यक्रम उति हुँदैनथ्यो । किनकि खेल खेल्ने ठाउँ पनि पर्याप्त थिएन । त्यसैले पनि स्कुलले सबै विद्यार्थीलाई पढाइमा मात्र ज्यादा ध्यान दिन लगाउथ्यो । तर पनि रोहनसँगै पढ्ने साथीहरू उसलाई टाढाको चौरमा खेल्नका लागि बोलाउन उसको घरैमा आउँथे । “आउ न रोहन, चौरमा खेल्न जाउँ । कति रमाइलो हुन्छ” भनेर साथीहरूले भन्थे तर रोहन निस्किँदैनथ्यो । ज्यादा नबोल्ने र घुलमिल हुन नचाहने भएकोले धेरैले आफूलाई राम्रो मान्दैनन् र आफूलाई साथीहरूसँग बोल्न र रमाइलो गर्न आउँदैन भन्ने सोच्थ्यो । यत्तिकै उनीहरूबाट टाढिन्थ्यो ।

समयसँगै पढाइप्रति उसको रुचि विस्तारै घट्दै जान थाल्यो । मन लागे पनि नलागे पनि, अरू गर्ने चिज केही नदेखेर जबरजस्ती किताब मात्र हेर्ने गर्दा उसलाई दिक्क लाग्न थाल्यो । उसको अङ्क पनि घट्दै जान थाल्यो । अब शिक्षक र बाबुआमाले उसलाई गाली गर्न थाल्नुभयो । रोहन बिचरा अलमलमा पर्‍यो । “मामु, अब म के गरुँ ?” रोहनले सोध्दा “खोइ म जान्दिनँ” भनी झर्को मान्दै आमा अर्को कोठामा जानुभयो ।  

एक दिनको कुरा हो, रोहनका बाबुआमालाई नयाँ ठाउँमा बसाइँ सर्नुपर्ने भयो । ठाउँ सहरभन्दा टाढा र गाउँको नजिक थियो । रोहनलाई पनि नयाँ स्कुलमा भर्ना गरिदिनुभयो । यो स्कुल उसको अघिल्लो स्कुलभन्दा फरक थियो । ठुलो खेल मैदान थियो । यहाँ नियमित खेलकुद र अन्य अतिरिक्त क्रियाकलाप भइरहन्थे । सबैलाई कुनै न कुनै खेलमा भाग लिनै पथ्र्यो । 

एक दिन स्कुलमा फुटबल खेल हुने भयो । दुवै समूहमा गरेर कम्तीमा २२ जना खेलाडी चाहिने भयो । रोहनलाई पनि भाग लिनै पर्ने भयो । रोहनले डराउँदै भन्यो, “सर, मलाई केही पनि खेल्न आउँदैन, म खेल्दिन ।” खेल शिक्षकले मुसुक्क हाँस्दै भन्नुभयो, “रोहन बाबु, त्यसो भनेर हुँदैन नि ! तिमीले जस्तो सक्छौ त्यस्तै खेल । पछाडि किन हट्छौ ?” रोहन मैदानमा प्रवेश गर्‍यो । त्यो फराकिलो मैदान र खेलाडी साथीहरू देखेर उ आत्तियो । 

तर जब उसले फुटबललाई एक किक हान्यो, उसलाई फरक अनुभूति भयो । उ फुटबलको पछि पछि दौडन थाल्यो । मनभित्र उमङ्ग र खुसीको अनुभव भयो । उसको हात, गोडा र पूरा शरीरले व्यायाम गरिरहेको र मुटु पनि खुसीले उफ्रिरहेको रोहनलाई अनुभव भयो । अझ बल आफूसँग हुँदा साथीहरूले ‘रोहन रोहन’ भनी चिच्याउँदा त झन् उसलाई सबैभन्दा रमाइलो लाग्थ्यो । जोस र जाँगर झन् बढ्थ्यो । 

खेल सकियो । उसको टिमले जित्यो र फाइनलमा पुग्यो । सबैले उसको खेलको प्रशंसा गरे । उ आफूलाई खेलमा राम्रै रहेछु भन्ने पनि थाहा भयो । खेलमा यति धेरै रमाइलो हुने रहेछ, साथी र शिक्षकबाट यति धेरै माया पाइने रहेछ र शरीर पनि हल्का हुने रहेछ भन्ने पनि उसलाई पहिलो पटक अनुभव भयो । 

साथीहरू जितको खुसियाली मनाउन लागे तर रोहनको आँखाबाट अचानक आँसु झर्न थाल्यो । मैदानमा बसेर रोइरहेको रोहनलाई देखेर साथीहरू आत्तिए । “रोहन, के भयो ? कतै चोट लाग्यो कि ?” साथीहरूले सोधे तर रोहनले कसरी भनोस् कि उसले पहिलेको स्कुलका साथीहरू सम्झिरहेको थियो । साथीहरू एक दिन नबिराई ‘खेल्न जाउँ’ भन्न आउँथे । उनीहरूले उसलाई माया पो गर्दा रहेछन् । उसँग खेल्न खोज्दा रहेछन् । उनीहरूलाई उसँग मैदानमा एकछिन खुलेर दौडन र शरीर चङ्गा बनाउन मन रहेछ । उसले भने तिनीहरूलाई निराश बनाएर फर्काउँथ्यो र आफू पनि सधैँ पढाइको चिन्तामा बस्थ्यो । 

आँसु झार्दै टुक्रुक्क बसेको रोहनलाई साथीहरूले जुरुक्क उठाएर काँधमा बोके र आकाशतिर उचाले । मैदान घुमाए । उसले पनि जितको खुसियाली मनाउन थाल्यो । अब भने रोहनले पढाइसँगै साथीहरूसँग घुलमिल हुन पनि सिकेको छ । घरमा बाबुआमा र विद्यालयमा शिक्षक विद्यार्थी सबैले राम्रो मानेका छन् र सबैभन्दा ठुलो कुरा उसले आफ्नो जीवनबाट हराएको खुसी प्राप्त गरेको छ ।     

   मुना