• २१ चैत २०८१, बिहिबार

मनको इच्छा पूरा गर्ने मनमयजु

blog

सम्राट् कुँवर 

कक्षाः ५, हिमरश्मि हाई स्कुल

मनमैजु, काठमाडौँ

मनमयजु अर्थात् मनमैजु मन्दिर काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक शक्तिपीठमध्येको एक हो । यो काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिका–९ मा अवस्थित छ । यस मन्दिरमा अजिमा–इन्द्रायणीको पूजाआजा गरिन्छ । कलात्मक शैलीमा बनाइएको मनमैजु मन्दिर दुई तलाको छ भने त्यसको वरिपरि काष्ठकलाबाट निर्मित पाटीको घेरा रहेको छ । मनमैजु मन्दिरमा भाकल गर्दा इछ्याएको पुग्ने विश्वास गरिन्छ । त्यही भएर यहाँ नियमित पूजा गर्ने र बलि चढाउने चलन छ । मन्दिरको मुख्य ढोका पूर्व र अर्को ढोका दक्षिणतर्फ फर्किएको छ ।

नुवाकोट दरबारको भैरवी, काभ्रेस्थलीको देवथली र मनमैजु इन्द्रायणीमा एकै दिन विशेष पूजा तथा जात्रा लाग्छ । विशेष पूजामा पञ्चबलि (राँगा, बोका, हाँस, कुखुरा र च्याङ्ग्रा) दिने चलन रहेको स्थानीय ज्येष्ठ नागरिक चन्द्रमान महर्जनले बताउनुभयो । वडादसँैमा नौरथाको छैटौँ दिन र वैशाख पूर्णिमाको दिन विशेष पूजा हुन्छ । मनमैजु नेवार समुदायका महर्जन जातिको बसोबास रहेको स्थान हो । यद्यपि विशेष पूजामा टाढा टाढाबाट भक्तजन आउने गर्छन् । 

हिन्दु र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण धार्मिकस्थल मनमैजु मन्दिर स्थापनाको किंवदन्ती भने रोचक छ । लिच्छविकालका राजा गुण कामदेव नागार्जुन डाँडामा सिकार खेल्न जाँदा राति जङ्गलमै बास बसे छन् । सोही रात मनमैजु देवी (अजिमा/इन्द्रायणी) प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पूजाअर्चना गरी जात्रा चलाएमा मनोकाङ्क्षा पूरा हुने भनी सपना देखे छन् । 

त्यसको भोलिपल्ट बिहान अग्लो स्थानमा रहेको नागार्जुन डाँडाबाट चारैतिर हेर्दा पानीको दह भएको स्थाननजिकै काँडाको झ्याङैझ्याङको बिचमा एउटा मन्दिर र ससाना बस्ती देखे छन् । राजा गुण कामदेवले आफूसँग सिकार खेल्न गएका सबैलाई साथमा लिई त्यस मन्दिरसम्म पुग्‍ने बाटो निर्माण गरेका थिए । 

मनमैजुमा अजिमा/इन्द्रायणीको नित्यपूजा गरी चार दिनसम्म जात्रा चलाई पाँचौँ दिनमा देवीको चिनो (हिरामोतीले जडिएको भोटो) देखाउँदा राजा गुण कामदेव र स्थानीयको मनको आकाङक्षा पूरा भएकोले त्यस समयदेखि नै मनमैजुमा विशेष पूजासहित जात्रा लाग्ने प्रचलन बसेको इतिहास पाइन्छ ।

त्यहाँ भेटिएको प्राचीन शिलालेख अनुसार मनमैजुलाई नेवारी भाषामा फुसिखः/खुसिखः भन्ने चलन रहेछ । ‘फुसे’ भनेको फेदी र ‘खः’ भनेको चौर वा खेल्ने ठाउँ बुझिन्छ । यी दुवै शब्द मिलेर फुसिखः बनेको हो, जसको अर्थ डाँडाको फेदीमा रहेको गाउँ हुन्छ । त्यस्तै ‘खुसिः’ खोला र ‘खः’ खेल्ने ठाउँ हुन्छ । यसको अर्थ खोलाको खेल्ने ठाउँ हो । मनमैजु डाँडोलाई पश्चिम र दक्षिणमा महादेव खोला तथा पूर्वमा साङ्गले खोलाले घेरेको हुनाले खुसिखः भनिएको हुन सक्छ । 

यो मन्दिरको निर्माण मल्लकालका राजा प्रताप मल्‍लले विसं १७१९ मा गरेका थिए । त्यसपछि विसं १८५८ मा राजा गीर्वाणयुद्धविक्रम शाहको पालामा मन्दिरको मर्मतसम्भार गरी पूजाआजा चलाउन गुठीको स्थापना र राजा महेन्द्रका पालामा मन्दिरको जीर्णोद्धार गरिएको थियो । मनमैजु मन्दिर परिसरमा भैरवपाटी, पूर्वपश्चिम भागमा ढुङ्गेधारा, फराकिलो मैदान आदि छ । मन्दिर परिसरमा रहेका केही शिलालेख संरक्षण गर्नुपर्ने देखिन्छ । 

   मुना