• २० चैत २०८१, बुधबार

नाै वर्षदेखि सुब्बाको भरमा इलाका प्रशासन

blog

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), चैत १९ गते । रौतहटको मध्य भागमा रहेको इलाका प्रशासन कार्यालय गरुडा विगत ९ वर्षदेखि नायव सुब्बाको भरमा सञ्चालन हुँदै आएको छ ।

२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय गरुडा स्थापना काल यता तीन जना नायव सुव्वाले सञ्चालन गर्दै आएको छ । 

गरुडा नगरपालिका १ देखि ८, माधव नारायण नगरपालिकाको ९ वटै वडा तथा गढिमाई नगरपालिकाको ९ वटै वडाका नागरिकलाई नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, रास्ट्रिय परिचय पत्र उपलब्ध गराउने र अन्य प्रशासनिक कामकाज गर्न खुलेको इलाका प्रशासन कार्यालयमा दरबन्दी अनुसारको कार्यालय प्रमुख व्यवस्थापन नहुँदा यसको प्रत्यक्ष असर यहाँको नागरिकदेखि व्यापार व्यवसाय, कल कारखाना, वित्तिय संस्थालाइ परेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद कलवारले बताउनुभयो । 

नायव सुब्बा राम स्वार्थ राय यादव २०७६ कात्ति ८ गतेदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा छन् । एक वर्षमा ६ महिना मात्र निमित कार्यालय प्रमुखको जिम्मेवारी तोक्ने कानुनी व्यवस्था हुँदा हुँदै कर्मचारी अभाव तथा भएको कर्मचारी समेत इलाका प्रशासन कार्यालयमा जान नचाहेको विशेष परिस्थितिका कारण १ दिन बिराएर हरेक ६-६ महिनामा सुब्बालाई जिम्मेवारी दिनुपरेको गृह मन्त्रालय निजामति कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लोकेन्द्र बहादुर विष्टले बताउनुभयो ।

लगातार एउटै व्यक्तिलाई निमितको जिम्मेवारी दिन नमिल्ने भन्दै गृह मन्त्रालयले २०८० फाल्गुनमा शाखा अधिकृत मनिष झालाई इलाका प्रशासन कार्यालय गरुडा पठाएको थियो तर ३ महिना नबित्दै उनको सरुवा भएपछि जनताको काम नरोकियोस  भनेर आफुले पुनः जिम्मेवारी लिएको निमित कार्यालय प्रमुख राम स्वार्थ राय यादवले बताउनुभयो ।

आफू हाजिर भए लगत्तै इलाका प्रशासन कार्यालय गरुडामा शाखा अधिकृत पठाउन आग्रह गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताउनुभयो । गृह सचिव गोकर्णमणि दुवाडीले दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापनका लागि आफू लागि परेका उहाँले बताउनुभयो ।