• १० माघ २०८१, बिहिबार

बैंकको अत्याधुनिक भवन बन्दै

blog

रत्ननगर, जेठ २१ गते । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गर्नुभयो ।

बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताउनुभयो । देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ ।

तीन कठ्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार ६०० वर्गफुटमा फैलिने छ । दुई तला अण्डरग्राउण्ड र पाँच तला माथि रहनेगरी भवनको संरचना निर्माण हुने छ भने भवनको अण्डरग्राउण्डमा पार्किङ हुनेछ ।

भवन शिलान्यास अघि बैंकले आफ्नो सयौँ कर्मचारीको सहभागितामा ‘वाकाथन’को आयोजना गरेको थियो ।