• २० चैत २०८१, बुधबार

सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’

blog

सुरुङमार्गमा लाइनिङको काम गरिँदै । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता 

तानसेन, चैत १९ गते । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ४६ प्रतिशत काम सम्पन्न भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा २०७८ फागुनदेखि सुरुङ निर्माणको काम सुरु भएको हो । एक हजार १२६ मिटर लामो मुख्य सुरुङमार्ग र ४४० मिटर बाइपास सुरुङमार्ग छिचोलिएपछि मुख्य सुरुङमा ‘लाइनिङ’ को काम भइरहेको आयोजना पक्षले जनाएको छ । 

मुख्य र बाइपास सुरुङ छिचोलिएपछि त्यसलाई पूर्णता दिने, लाइनिङ गर्ने र विद्युतीकरण गर्ने काम भइरहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । हालसम्म २५० मिटर लाइनिङको काम पूरा भइसकेको छ । यस्तै मुख्य सुरुङको उत्तरतर्फको पोर्टलमाथि एक हजार एक सय वर्ग मिटर र दक्षिणतर्फको पोर्टलमाथि दुई हजार तीन सय वर्गमिटर क्षेत्रमा स्लोप बनाउने काम गर्नुपर्ने अधिकारीले जानकारी दिनुभयो । त्यसमध्ये हालसम्म उत्तरतर्फ ४९५ वर्गमिटर र दक्षिणतर्फ एक हजार ४९५ वर्गमिटर स्लोप बनाउने काम सकिएको छ । अधिकारीले भन्नुभयो, “सुरुङको छिचोलिएपछि मुख्य सुरुङमा लाइनिङको काम तीव्र गतिमा भइरहेको छ । यही गतिमा काम भए मुख्य सुरुङ र बाइपास सुरुङमा लाइनिङको काम छिट्टै सकिन्छ ।” 

यस्तै सुरुङमार्गको उत्तर र दक्षिणतर्फको चट्टान अड्याउन १७ हजार ६० वर्गमिटर स्लोप निर्माण गर्नुपर्ने छ । त्यसमध्ये हालसम्म दुई हजार वर्गमिटर स्लोप बनाउने काम सकिएको आयोजनाको कार्यालय बुटवलले जनाएको छ । यस्तै सडकको तल्लो तिनाउ नदीको भागमा समेत एक हजार ८६० वर्गमिटर स्लोप निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सो क्षेत्रमा भने हालसम्म काम हुन सकेको छैन । सुरुङमार्ग आयोजनाको ३९ प्रतिशतभन्दा बढी वित्तीय प्रगति भएको छ । कम्पनीले अबको दुई वर्षभित्र सबै काम सक्ने गरी काम गरिरहेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो । 

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरोले ठुलो जनधनको क्षति भए पनि सरकारले सुरुङमार्ग बनाउने योजना अघि सारेको हो । सिद्धबाबा क्षेत्रको चार किलोमिटर सडकलाई पहिरोको जोखिममुक्त सडकका रूपमा स्थापित गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । सुरुङ बनेपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, रुपन्देही, म्याग्दी, कपिलवस्तुलगायतका जिल्लामा जानआउन सहज हुने छ । 

तीन वर्षअघि चाइना पाल्पाको तिनाउ गाउँपाालिका–३, दोभान क्षेत्रमा सुरुङमार्गको प्रारम्भिक काम थालनी भएको थियो । पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ साल फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो ।