तम्घास समाचारदाता
तम्घास, चैत १९ गते । गुल्मी अस्पतालको भवन निर्माण कार्य दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष हुँदासमेत सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण कार्य सक्नुपर्ने सम्झौता भए पनि करिब चार वर्ष बित्न लाग्दा ८४ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ ।
पुनर्निर्माण प्राधिकरण र स्वच्छन्द–बानियाँ जेभी हेटौँडा मकवानपुरबिच २०७८ साल असार १८ गते सम्झौता भई २०८० साल असार १७ गतेसम्म २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा सम्पन्न गर्ने उल्लेख थियो । सुविधासम्पन्न साढे पाँच तलाको भवन २०८२ असार मसान्तसम्म सक्ने गरी समयावधि थप भएकाले सोही समय अवधिमै कार्य सम्पन्न गर्ने गरी लागेको निर्माण व्यवसायीको भनाइ छ ।
भवनको सबै तलाको ढलान सकेर अहिले फिनिसिङ र वायरिङलगायतका काम भइरहेका छन् । चिसो मौसम, पानी परिरहने, सुरुमा कोभिड लहर, निर्वाचनको समयमा डन्डीको उच्च मूल्यवृद्धि र केही समय गिट्टी बालुवाको अभावका कारण समयमै काम सम्पन्न गर्न नसकिएको निर्माण व्यवसायीका इन्जिनियर आदित्य नारायण ठाकुरले जानकारी दिनुभयो । अबको दुई महिनाभित्रमा भवन निर्माणको कार्य गर्ने गरी आफूहरू लागेको उहाँको दाबी छ ।
गुल्मी अस्पतालमा रहेका भवन साना र सेवाग्राहीमैत्री नहुँदा समस्या हुँदै आएको छ । भवनलाई जति सक्यो छिटो सम्पन्न गर्न नियमित खबरदारी गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ ।
निर्माणाधीन भवनको गुल्मीबाट निर्वाचित सङ्घीय र प्रदेशका सांसदले अनुगमन गर्दै आउनुभएको छ । गुल्मी अस्पतालको भवन छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई यहाँका सरोकारवालाले समेत आग्रह गरेका छन् । गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको थियो । भौतिक संरचनाको अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।