• २० चैत २०८१, बुधबार

विषालु सर्पको बिगबिगी

blog

सर्पको टोकाइबाट बच्न झुल वितरण गर्नुहुँदै सारू कान्छा । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, चैत १९ गते । तराईमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी सुरु भएको छ । सर्प उद्धारकर्ता भनेर चिनिने चेतबहादुर सारू अर्थात् सारू कान्छाले चैत सुरु भएयता दैनिक रूपमा एक/दुई वटा विषालु सर्पको उद्धार गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार तराईमा चैतदेखि कात्तिक महिनासम्म विषालु सर्पको बिगबिगी हुने गर्छ । उहाँले विगत पाँच वर्षदेखि सर्प उद्धार गर्दै आउनुभएको छ भने हरेक वर्ष एक सयदेखि दुई सय विषालु सर्प उद्धार गरी सुरक्षित रूपमा जङ्गलमा छोड्दै आउनुभएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१०, झिमझिमिया निवासी सारू कान्छा गाउँघरमा सर्प उद्धार गर्दै आउनुभएको छ । सारू कान्छाले सर्पको उद्धार मात्रै गर्दै आउनुभएको छैन, सर्पबाट बच्न जनचेतना फैलाउँदै विपन्न समुदायलाई बर्सेनि झुलसमेत वितरण गर्दै आउनुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१०, सालझण्डीको कटानीमा शनिबार उहाँले गरिब तथा विपन्न परिवारलाई दुई सय वटा झुल वितरण गर्नुभएको हो ।

सारू कान्छाले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका केही नेपालीले पठाएको सहयोग रकम र सर्प उद्धार कसैले खुसीले दिएको पैसाबाट प्रत्येक वर्ष झुल वितरण गर्दै आएको बताउनुभयो ।