• २० चैत २०८१, बुधबार

संस्थान सञ्चालनको प्रक्रिया अगाडि बढाइने

blog

कार्यदलको ज्ञापनपत्र बुझ्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

धनगढी समाचारदाता

धनगढी, चैत १९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्राविधिक समस्या सुल्झाएर दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ । संस्थान सञ्चालनका लागि जग्गा प्राप्ति दलको सोमबार ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरेर प्राविधिक समस्या सुल्झाई प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुभयो । दुग्ध वितरण आयोजना अत्तरियालाई संस्थान सञ्चालनका लागि जग्गा उपलब्ध गराउन माग गर्दै कार्यदलले ज्ञापनपत्र बुझाएको हो । कार्यदलका संयोजक गोपालदत्त भट्टले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । संस्थान कहाँ स्थापना गर्ने भन्ने सवालमा आफूले सम्बन्धित मन्त्रीसँग चाँडै नै छलफल गर्ने मुख्यमन्त्री शाहको भनाइ थियो ।