अहिलेको परिस्थितिमा ससाना विषयमा ठुलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन । अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारको रक्षा, लोकतन्त्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिङ्गो सदन एक हुनुपर्ने आवश्यकता छ ।
सम्माननीय सभामुख महोदय,
मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र
बिम्स्टेक शिखर सम्मेलनमा सहभागिता
भोलिबाट मित्रराष्ट्र थाइल्यान्डमा मेरो औपचारिक भ्रमण हुँदै छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक औपचारिक भ्रमण हुँदै छ । यसबिचमा यत्ति नजिकको र ट्रान्जिट पोइन्ट जस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको अवस्था रहेछ । त्यसलाई अन्त्य गर्नका लागि यस पटक कार्यकारी प्रमुखको औपचारिक भ्रमण नेपालका तर्फबाट पहिलो पटक हुँदै छ । यस अर्थमा यो भ्रमण आफैँमा महत्वपूर्ण हो भन्ने ठान्दछु । भोलि १९ गते (अप्रिल १) मेरो भ्रमण टोली बैङ्ककतर्फ प्रस्थान गर्ने छ ।
२० गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ । भ्रमणका क्रममा महामहिम प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुन्छ । यस पटक पर्यटन र संस्कृतिको सन्दर्भमा दुई वटा समझदारीपत्रमा हस्ताक्षर हुन्छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबिच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने छ । द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा भाग लिने छु । थााइल्यान्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण समाप्त हुने छ । २१ गते (३ अप्रिल) बिहान थाइल्यान्डका प्रतिष्ठित व्यवसायीसँग मेरो भेटघाट र छलफल हुने छ । दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मैले सम्बोधन गर्ने छु । साँझ हुने बिम्स्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुने छु । समयको चाप छ, अधिकांश सदस्य देशका नेता २१ गते मात्र बैङ्कक आइपुग्ने तालिका छ तर पनि शिखर सम्मेलनलगत्तै बाँकी मुलुकका नेतासँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ ।
२२ गते हामी बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने छौँ । बिहान मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन एग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुने छु । दिउँसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ दूतावासमा हुने कार्यक्रमसँगै हाम्रो भ्रमणका कार्यक्रम सकिने छन् । २३ गते हामी स्वदेश फर्किने छौँ । यस भ्रमणका दुई वटा उद्देश्य मैले भनेँ, “एउटा औपचारिक भ्रमण र अर्को बिम्स्टेक शिखर सम्मेलनमा सहभागिता ।” यसै सन्दर्भमा अरू केही साइड लाइनका काम हुने मैले यस गरिमामय सदनसमक्ष जानकारीका लागि निवदेन गरेको छु ।
समसामयिक विषय
गत चैत १५ गते दुई वटा रानीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुवै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध, आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुन सक्ने अवाञ्छित घटनाप्रति आयोजकलाई सचेत गराएको थियो । यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा सामाजवादी मोर्चाले काठमाडौँको प्रदर्शनीमार्गमा भव्य सभा गर्यो । आफ्नो धारणा सार्वजनिक गर्यो । सरकारलाई खबरदारी गर्यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो ।
शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकलाई धन्यवाद ज्ञापन गर्दछु ।
हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु । काठमाडौँको तीनकुनेमा अर्को सभाका लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र दुबिधासमेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशङ्काका आधार थिए । दुबिधा यस अर्थमा थियो, त्यसका आयोजकमध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो ।
तर तीनकुनेका आयोजकले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित भिड सलबलाउन थाल्यो । सभा वा मन्तव्य होइन, प्रदर्शनको कथित ‘जनकमान्डर’ आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भिड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुङ्गामुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुन्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरिए । हुँदा हुँदा निजी व्यक्तिथको घर, सार्वजनिक भवन, सञ्चारगृह, पार्टी कार्यालय, औषधी कारखाना र सवारीसाधनमाथि ढुङ्गामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोर लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो ।
निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतङ्ककारी कामसमेत भयो । प्रहरीका सवारीसाधन मात्रै होइन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो । यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नमाथि जोसुकै होऊन्, जुनसुकै कभरमा किन नहोऊन्, कडा प्रशासनिक कारबाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नुहुने छ ।
घटनामा संलग्नमाथि छानबिन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छु । यस घटनको पृष्ठभूमिमा करिब एक वर्षअघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ । सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसैबेलादेखि क्रियाशील थियो, मौका खोजिरहेको थियो । धर्मसंस्कृति, परम्परा जस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीको भावनात्मक संवेदनामाथि खेल्ने र बैङ्क तथा वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो ।
यसैबिच पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू अघि बढ्ने, साथ देऊ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसलगत्तै ठाउँ ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत सवारी’ आयोजना गरियो । उहाँले चैत १४ गते समाज बिथोल्न लागिपरेका एक अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो ।
प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान सभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको छ । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्र प्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँकी मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो । हाल राष्ट्रिय सभाका माननीय सदस्य एवं तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारका तर्फबाट संवाद/व्यवस्थापन गर्नुभएको थियो ।
नियमावलीको होइन, यहाँ संविधान उल्लङ्घन गर्ने, मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु । सबैले यस देशमा व्यवस्था मान्नु पर्छ, व्यवस्था मान्नु पर्छ । हल्ला गरेका भरमा राजनीति र संसद् सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन । आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।
शासन/प्रशासन
केही दिनयता संसद् अवरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो । अहिले विषय सामान्य छ, एक जना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अवरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । राष्ट्रसेवक कर्मचारीको गुण/दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ । यत्ति चाहिँ भनौँ, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमान्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला ।
त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम गरिन्छ । यो अहिलेको सरकारले मात्रै होइन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ । चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ, भइरहेको छ ।
अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ । त्यसैले यस विषयमा थप बहस नगरौँ, अहिलेको परिस्थितिमा ससाना विषयमा ठुलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन । अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारको रक्षा, लोकतन्त्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिङ्गो सदन एक हुनुपर्ने आवश्यकता छ ।
हामीले सुनेका छौँ, व्यवस्थाविरुद्ध, प्रणालीविरुद्ध, लोकतन्त्रविरुद्ध, संविधानविरुद्ध ललकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर अपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलाप भइराखेका छन् । यस्तो बेलामा सिङ्गै समाज गम्भीर हुनु पर्छ ।
यस्तो बेलामा सिङ्गै समाज गम्भीर भएर यस्ता कुरालाई हामी जनप्रतिनिधि हौँ, संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथविपरीत, नैतिकताविपरीत हो । त्यसकारण शपथविपरीत जानु हुँदैन । नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका हौँला । संविधानको शपथ लिने अनि संविधानको खिलाफ जाने, संविधानभन्दा माथि शपथ कसैले देश र जनताका नाममा लिएका हौँला, कसैले ईश्वरका नाममा लिएका हौँला । संविधानको शपथ लिएर, ईश्वरका नाममा शपथ खाएर त्यसविपरीत चल्न मिल्छ नैतिकताले ? त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौँ । अहिले यति नै भनौँ, सबैलाई धन्यवाद ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा राख्नुभएको मन्तव्यको पूर्ण पाठ)