बुटवल समाचारदाता
बुटवल, चैत १९ गते । लोकसंस्कृतिको संरक्षण तथा कला क्षेत्रमा नवप्रतिभा खोजी गर्ने उद्देश्यले बुटवलमा भएको ‘प्रथम बुटवल लोकतारा’ को उपाधि वसन्ता खनालले जित्नुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा बुटवलमा भएको उक्त प्रतियोगितामा प्रेम विश्वकर्मा दोस्रो र भुवन अधिकारी तेस्रो हुनुभएको छ । अर्जुन पाण्डे र सुनिता विकले सान्त्वना जित हात पार्नुभएको छ ।
प्रतियोगिताका कार्यक्रम संयोजक रेशम खनालले उपाधि विजेतालाई पुरस्कार, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सोपकोटाले यो प्रतियोगिता अवसर नपाएकालाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट ठाउँ भएको बताउनुभयो । प्रतियोगितामा ३० जनाभन्दा बढी प्रतियोगीको सहभागिता रहेको थियो ।
यसअघि शनिबार प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले प्रथम बुटवल लोकतारा प्रतियोगिताले कला क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ प्रतिभालाई राम्रो अवसर भएको बताउनुभएको थियो ।