• २० चैत २०८१, बुधबार

रहस्यमय कथा ‘खेल’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १९ गते । सस्पेन्स थ्रिलर नेपाली चलचित्र ‘खेल’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ । ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ । ट्रेलरमा शिक्षकले विद्यार्थीलाई काठमाडौँको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयलाई पनि उठान गरिएको छ । ट्रेलरमा पुराना कलाकृति र शिलालेखका दृश्यहरू छन् । साथीहरूबिचको मित्रता र असमझदारी दुवैलाई दृश्यमा देखाइएको छ । अभिनेतृ पन्तको अस्वाभाविक व्यवहार, नगरकोटीको रहस्य सुल्झाउने प्रयास,  थापा र  गौतमको फरक गतिविधिले चलचित्रमा रहस्य र डरको आभास दिन्छ ।

ट्रेलरमा एउटा खेलपछि उत्पन्न हुने समस्याको चर्चा गरिएको छ । ‘एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, ईष्र्याद्वारा भ्रष्ट, अकाट्य भोग’ जस्ता वाक्यांशले चलचित्रको रहस्यमय र डरलाग्दो वातावरणलाई थप बलियो बनाएका छन् । कथासँगै ट्रेलरले काठमाडौँ उपत्यकाको उत्पत्ति र इतिहास पनि बताउँछ । चलचित्रलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गर्नुभएको छ । चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र वैशाख १२ गते प्रदर्शनमा आउने छ ।