कृतबहादुर विष्ट
फूलबारी (कैलाली), चैत १८ गते । पूर्व राजाको पक्षमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितको ध्यानाकर्षण पत्र बुझ्दै सो घटनाबारे आफू गम्भीर भएको बताउनुभएको हो । उहाँले प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको विषयबारे अनुसन्धानसहित उचित क्षतिपूर्तिका लागि केन्द्रीय सरकारसमक्ष पहल थाल्ने बताउनुभयो उहाँले भन्नुभयो, “कुनै पनि बहानामा सञ्चारमाध्यममाथि आक्रमण हुनु दुःखद हो, दोषीलाई कानुनी कारबाही गर्नुपर्छ, म केन्द्र सरकारसँग विशेष अनुसन्धानका लागि पहल थाल्छु ।”
पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाह नेतृत्वको पत्रकारहरूले मुख्यमन्त्री शाहलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
महासङ्घको केन्द्रीय समितिको आह्वानमा सोमबार प्रदेश समितिले मुख्यमन्त्री शाहलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा पत्रकारको रजकको जलेर मृत्यु भएको, अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी तथा तोडफोड गरिएको, कान्तिपुर टेलिभिजन र हिमालयन टेलिभिजनमा क्षति पुर्याइनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी उहाँका खुट्टा भाँचिएको लगायत घटनाहरू ध्यानाकर्षण पत्रमा उल्लख छ ।
यस्तो घटना प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै सरकारलाई ध्यानाकर्षण गराउदै एक साताभित्र माग पूरा नभए देशव्यापी आन्दोलनमा उत्रने महासङ्घले चेतावनी दिएको छ ।
पछिल्लो समयमा मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारहरूको उपचार, सञ्चारगृहमा भएको क्षतिको भरपाई तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता माग गर्दै देशभर नै पत्रकारहरू आन्दोलित रहेका छन् ।
यस अघि नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गरेको थियो ।