• २० चैत २०८१, बुधबार

‘राजा आउ देश बचाउ भन्नु सज्जनको काम होइन’

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः सञ्चारमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्ध गराउन फेरि रेडियो नेपालको भूमिका अहम हुने बताउनुभएकोछ । 

काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव (हीरक महोत्सव) कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामान्तप्रवृत्तिको रहेको बताउनुभयो । यस्तो आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्त्व दर्शाउने र जनता माँझ सत्यतत्थ्य सूचना दिन रेडियो नेपाल लगायत सार्वजनिक सेवा प्रसारण संस्थानहरुको भूमिका हुने उल्लेख गर्नुभयो । पूर्व राजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौमसत्ता सम्पेको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण काम हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ।”  नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारको प्रशंसाभन्दा जनतालाई सही सूचना प्रसारण गर्ने पिएसबीको प्रमुख दायित्व हुने बताउनुभयो । रेडियो नेपाल प्रत्येक जनताको घरदैलोमा गुन्जिनु पर्ने र यसका लागि नेपालको माटो सुहाउँदो पिएसबी मोडलका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव समेत उहाँले कार्यक्रममा राख्नुभएको थियो । “राष्ट्रिय एकता सिर्जना गर्ने माध्यम रेडियो नेपाल भएकाले सबै जनताको पहुँचमा पुर्‍याउन जरुरी छ” उहाँले भन्नुभयो । 

त्यस्तै, सञ्चार सचिव राधिका अर्यालले रेडियो नेपालको गरिमामय इतिहास रहेको बताउँदै पिएसबीमा रूपान्तरण भएपछि यसले बहन गर्ने जिम्मेवारी जनताप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । पिएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आगामी दिनमा रेडियो नेपालको पहुँच सतप्रतिशत जनतामा पुर्‍याउने बताउँदै समावेशी चरित्रका कन्टेन निर्माणमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा हुलाक सेवा विभागले रेडियो नेपालको हीरक जयन्तीसम्बन्धी पहिलो हुलाक टिकट आवरण प्रकाशन गरेको थियो । जसमा सञ्चारमन्त्री गुरुङले टिकट आवरणमा टाँचा प्रदान गर्नुभयो ।