राममणि दाहाल
मकवानपुर, चैत १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले इद (इद–उल–फित्र) पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै पर्वहरूले मित्रता र आपसी सद्भाव वृद्वि गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
मुख्यमन्त्री लामाले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद (इद–उल–फित्र) पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको देशभएको बताउनुभएको छ ।
अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा छन् मुख्यमन्त्र लामाले शुभकाना सन्देशमा भन्नुभएको छ यस्ता सांस्कृतिक पर्व तथा चाडहरूले समुदायलाई एकताबद्ध गर्न सघाउ पुर्याउँछ ।
उहाँले विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसरण, संरक्षण र संवद्र्धन गर्न बागमती प्रदेश सरकार सदैव अभिभावकत्वको भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरीको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रियहरूलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलीपल्ट इद–उल–फित्रको खुसीयाली साटासाट गर्दै मनाउने यो पर्व इस्लाम धर्मावलम्बीहरूको एक विशेष पर्व हो । उहाँले यस्तो चाडपर्वहरूबाट हामी बिच नयाँ उमङ्ग र उत्साहका साथ एक अर्काको अस्तित्व र उपस्थितिलाई सम्मान व्यक्त गर्दै एक आपसमा एकता तथा बन्धुत्व स्थापित गर्न सफल हुने भन्दै भविष्यमा अझ आपसी सद्भाव मित्रतामा वृद्विको कामना गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीहरू बिच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्वि गरी समृद्व समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।