लक्ष्मी तिमिल्सेना
बाँके, चैत १८ गते । घाँस काटेर जीविकोपार्जन गर्दै आएको बाँकेको नेपालगन्ज–८ र १३ का घसियारा समुदाय, घाँस पाइन र बिक्री हुन छाडेपछि वैकल्पिक पेसा खोज्न बाध्य छन् । पुर्खाले नदीमा डुङा चलाएर जीविकोपार्जन गर्ने यो समुदायले नदीनालामा पुल पुलेसा निर्माण भएपछि उनीहरू समयको माग अनुसारको पेसा गर्न विवश भएका हुन् ।
नेपालगन्जमा घाँस काटेर जीविकोपार्जन गर्ने घसियारा समुदायले बढ्दो सहरीकरणका कारण आफूहरूको पेसा धरापमा पर्दै गएको गुनासो गरेका छन् । पुर्खाले नदीमा डुङा चलाएर नदी तार्ने काम गरे पनि डुङ्गा लोप भएपछि घाँस काटेर बेच्दै जीविकोपार्जन गर्दै आएका उनीहरू घाँस काट्ने पेशा पनि धरापमा परेको गुनासो गर्छन् ।
नेपालगन्ज–८ की उषा केवट पहिलाको जस्तो घाँस पाउन पनि छाडेको र बल्लतल्ल खोजेर ल्याएको घाँस पनि मूल्य नपाउँदा जीवन यापन गर्न कठिन भएको गुनासो गर्नुहुन्छ ।
‘पहिला नेपालगन्जमा यात्री बोक्नका लागि टाँगा प्रशस्त चल्ने हुँदा टाँगा तान्ने घोडालाई खुवाउने घाँसको निक्कै माग हुन्थ्यो । मूल्य पनि पाइन्थ्याे अहिले टाँगालाई अटोले विस्थापित गरिदियो । घाँस पनि बिक्री कम हुन थाल्यो ।’–उहाँले भन्नुभयो ।
नेपालगन्जको वडा नं. ८ र १३ मा बसोबास गर्ने केवट (घसियारा) समुदायले समय सँगै आफ्नो पेसालाई परिवर्तन गर्दै जानुपरेको रामचन्द्र केवट बताउनु हुन्छ । ‘पुर्खाले डुङ्गा चलाएर नदी तार्थे हामीले घाँस काटेर जीवन निर्वाह गर्न थाल्यौ । अहिले घाँस पाइन छाडे पनि वैकल्पिक पेसा खोज्न बाध्य छौ ।’–उहाँले भन्नुभयो ।
घाँस काटेर जीवन नचल्ने भएपछि केही संस्थाको सहयोगमा वैकल्पिक पेसाको रूपमा च्याउ खेती गर्न सुरु गरे पनि च्याउ बिक्री गर्न समस्या भएपछि विभिन्न पेसा अँगाल्न बाध्य भएको स्थानीय सन्तोषी केवटको भनाइ छ ।
केवट समुदाय कै जनप्रतिनिधिसमेत रहनुभएकी नेपालगन्ज–१३ की सोनी केवट यस समुदायको संरक्षण तथा उनीहरूको उत्थानका लागि सानातिना कार्यक्रम बाहेक ठोस योजना केही नभएको भन्दै आफ्नो समुदाय राज्यको प्राथमिकतामा समेत नपरेको गुनासो गर्नुहुन्छ ।
यस समुदायका पुर्खाले डुङा चलाउने गर्थे । नदी तथा खोलामा पुल बनेपछि डुङा बन्द भयो । अन्य पेसाका लागि आम्दानीको स्रोत थिएन । लगानी गर्न नपर्ने गरी घाँस काटेर बेच्न सुरु गर्दा केवटबाट घसियारा जाति भनेर पहिचान बनाए । यद्यपि बढ्दो सहरीकरण सँगै घसियारा समुदायको पेसा सङ्कटमा पर्दै गएको छ ।