• १९ चैत २०८१, मङ्गलबार

एसइईमा चिट : गहुँबारीमा राउटर, हात हातमा मोबाइल

blog

शीतल माविस्थित परीक्षा केन्द्रको प्रवेशद्वारमा परीक्षार्थीको खानतलासी गर्दै शिक्षक। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, चैत १७ गते। सूचना प्रविधिको विकाससँगै अधिकांशको पहुँचमा पुगेको इन्टरनेट सेवा परीक्षामा चिट चोर्ने मुख्य माध्याम बनेको पाइएको छ। गत चैत ७ गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुमपश्चिमका अधिकांश परीक्षा केन्द्रका परीक्षार्थीबाट चिट चोर्न प्रयोग भएको मोबाइल जफत गरिएपछि उक्त तथ्य खुलेको हो। 

परीक्षा केन्द्रको प्रवेशद्वार, कक्षा कोठामा केन्द्राध्यक्ष तथा गार्ड र जिल्लाबाट परिचालन भएको अनुगमन समितिले ठुलो मात्रामा विद्यार्थीबाट मोबाइल सेट जफत गरेको जनाएको छ। जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले अनुगमनका क्रममा मोबाइलको प्रयोग हुने गरेको, बजारमा चिट फोटोकपी गरेर समेत परीक्षा हलमा पठाउने गरेको पाइएको जानकारी दिनुभयो। 

अनुगमन टोलीले शीतल मावि चौरजहारीबाट ७० वटा र हिमालय मावि खोलागाउँबाट ३७ वटा मोबाइल एकैदिन जफत गरेको थियो। यसैगरी आठबिसकोटमा रहेको बालकल्याण माविबाट ३१, विरेन्द्र मावि बाँफिकोटबाट २१, सिद्धार्थ मावि मग्माबाट चार वटा र बालकल्याण मावि सोलाबाङबाट २० वटा मोबाइल जिल्लाबाट गएको अनुगमन टोलीले मात्रै जफत गरेको जनाएको छ। 

यसबाहेक केन्द्राध्यक्ष र परीक्षा गार्डको टोलीले प्रवेशद्वार, परीक्षा हलबाट विभिन्न मितिमा मोबाइल खोसेको बताइन्छ। शीतल माविका केन्द्राध्यक्ष यदु रानाले पहिलो दिन गेटमै ६० वटा र अर्को दिन ३० वटा मोबाइल निकालेको जानकारी दिनुभयो। जिल्लाबाट अनुगमन टोली आएपछिको दिनमा समेत १४ वटा मोबाइल जफत गरिएको उहाँले जनाउनुभयो। आठबिसकोटको बालकल्याण माविबाट केन्द्राध्यक्षको टोलीले विभिन्न दिनमा गरेर १५० वटा मोबाइल खोसेर परीक्षापछि फिर्ता गरेको बताइएको छ। 

हिमालय मावि खोलागाउँका केन्द्राध्यक्ष भीमबहादुर ओलीले अनुगमन समितिले जफत गरेका बाहेक ४३ वटा मोबाइल प्रवेशद्वारमै निकालेको बताउनुभयो। ओलीका अनुसार विद्यार्थीले मोबाइलमा इन्टरनेटको पहुँच जोडेर चिट चोर्न प्रयोग गर्ने गरेको तर बेलैमा थाहा पाएर रोकिएको छ। विद्यालयको छेउमा रहेको गहुँबारीमा इन्टरनेटको राउटर लुकाएर राखेको अवस्थामा फेला पारेर आफूले निकालेको केन्द्राध्यक्ष ओलीले जनाउनुभयो। परीक्षामा प्रविधिको दुरुपयोग गर्न खोजेको उहाँको भनाइ छ। 

शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुनले पछिल्लो पुस्ताले परीक्षामा समेत प्रविधिको गलत प्रयोग गरेको बताउनुभयो। जिल्लामा रहेका १५ वटै परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमन गरिएको र परीक्षा केन्द्रबाट करिब पाँच सय मोबाइल अनुगमन टोली र केन्द्राध्यक्षले निकालेको उहाँले जनाउनुभयो। मोबाइलमा डेटाको प्रयोग, डेटाको पहुँच नभएको ठाउँमा वाइफाइका लागि राउटर समेत राख्ने गरेको पाइएको उहाँले बताउनुभयो। इन्टरनेटको प्रयोगमार्फत मोबाइलमा म्यासेन्जर र ह्वाटसएप लगायतबाट एपबाट चिट चोर्न कोसिस गरेको एकाइ प्रमुख पुनले जानकारी दिनुभयो।

विभिन्न परीक्षा केन्द्रबाट अनुगमन टोलीबाट जफत गरिएका मोबाइल मुचुल्कासहित जिल्ला ल्याइएको प्रहरी नायक उपरीक्षक प्रमेश विष्टले जनाउनुभयो। उहाँका अनुसार सबै परीक्षा सकिएपछि परीक्षार्थीलाई सचेत बनाउँदै कागज बनाएर फिर्ता गरिने छ।