ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको अन्नपूर्ण देवीको मन्दिर गोरखा जिल्लाको पालुङटार नगरपालिका–१, खोप्लाङमा रहेको छ । सालको घना जङ्गल र केही भिरालो क्षेत्रमा मन्दिर रहेको छ । खोप्लाङ अन्नपूर्ण देवीलाई मनकामना देवीकी बहिनीसमेत भन्ने गरिन्छ । दुवै देवीको उत्पत्ति कथा र देवीको मूर्तिको आकार उस्तै छ । मूर्ति एकै दिशातर्फ फर्किएको पाइन्छ । यी दुईबाहेक अन्य दिदीबहिनीमा गोरख कालिका, अकला, वकेश्वरी, छिम्केश्वरी आदि हुन् भन्ने गरिन्छ ।
देवीको उत्पत्तिसम्बन्धी किंवदन्ती अनुसार अन्नपूर्ण देवी मन्दिर अहिले रहेको स्थानमा त्यस समय मगर जातिको बसोबास थियो । उनीहरूमध्ये कुनै सदस्यले खेतमा जोत्दा हलोको टुप्पामा रगत देखा परेको र सोही रात देवीले सपनामा आई ‘म अन्नपूर्ण देवी हुँ, मेरो पूजा गर्नू । यसबाट यस क्षेत्रका साथै तिमीहरूका सन्तानलाई खानलाउन दुःख हुँदैन । उनीहरूको उन्नति हुन्छ’ भनेकाले मन्दिर बनाई देवीको पूजाआजा सुरु गरिएको हो । यहाँ प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष चौथीका दिन मेला सुरु भएर पञ्चमीका दिन समाप्त हुन्छ । यसलाई गुठीपञ्चमी भन्ने गरिन्छ ।
त्यसको भोलिपल्ट मनकामना देवीको मन्दिरमा मेला लाग्छ । मेलामा पन्चैबाजा बजाउँदै तोरणसहितकोे फूलको डोलीले मन्दिर परिव्रmमा गरी देवीलाई अर्पण गरिन्छ । आफूले चिताएको पूरा भएमा सर्वसाधारणले समेत फूलको डोली अर्पण गर्छन् । फूलको डोलीमा विभिन्न प्रकारका फूलका साथै आँप, पिपललगायतले सजिएको तोरण चढाइन्छ । मन्दिरलाई तोरणले बेर्ने चलनसमेत छ । श्रद्धालु भक्तजन रातभर मन्दिरमा बत्ती बालेर जाग्राम बस्ने पनि गर्छन् । मेलामा स्थानीय उत्पादन बिव्रmी गरिन्छ । स्थानीय परिकारसमेत मेलामा राखिएका हुन्छन् ।
देवीको नाम नै अन्नपूर्ण भएकाले देवीको आराधना गर्नाले खेतीबाली राम्रो हुने, अन्नको अभाव कहिल्यै नहुने र पालिएका पशुपन्छीको समेत संरक्षण हुने जनविश्वास । खेतबारीमा नयाँ अन्न, फलफूल उत्पादनपछि सबैभन्दा पहिले देवीलाई चढाउने चलन अहिले पनि छ । त्यसपछि मात्र देवीको प्रसादका रूपमा उपभोग गर्ने गरिन्छ । कुनै वर्ष खेतीबाली राम्रो भएन भने यहाँ रहेको मौलाको माटो लगेर जमिनमा छर्किएमा बालीनाली राम्रो हुने जनविश्वास छ । आँखामा ‘आनो’ आएमा, कान दुखेमा चाँदीको कान बनाएर देवीलाई अर्पण गरे सन्चो हुने र शरीरमा खटिरा आए या अन्य समस्या देखा परे देवीको पूजा गरेमा निको हुने जनविश्वास पाइन्छ ।
भनिन्छ, यस ठाउँमा बालीनाली नष्ट गर्ने गरी असिना अहिलेसम्म परेको छैन । देवीको मन्दिर हुनाले पशुपन्छीको बलि दिने प्रचलन छ । तथापि गर्भिणी पशु पर्न सक्ने भयले पाठीको बलि दिइँदैन । पहिला मन्दिरभित्र नै पन्छीको बलि दिने गरिएको थियो । पशुबलि मन्दिरबाहिर मौलामा दिइन्थ्यो । तथापि मन्दिरनजिकै बाघभैरव मन्दिर बनाइएपछि त्यहीँ नै पञ्चबलिलगायत बलि दिइन्छ । विशेष गरी बडादसैँ, चैतेदसैँलगायत विशेष पर्व मेलामा मन्दिरमा भक्तजनको भिड नै लाग्छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरलाई पुरातŒव विभागले पुरानै प्यागोडा शैलीमा पुनर्निर्माण गरेको छ । प्रदेश सरकारले मन्दिर संरक्षणका लागि पर्खाल लगाउने र अन्य निर्माण कार्य गरिरहेको छ । यस स्थललाई धार्मिक पर्यटनस्थल र वनभोज एवं मनोरञ्जनस्थलका रूपमा विकास गर्ने प्रयास गरिएको छ ।
मन्दिरनजिकै स्थानीय भक्तजनले गणेश मन्दिर निर्माण गरेको पाइन्छ । त्यसको थोरै माथितिर शिवको पुरानो मन्दिर छ । मन्दिरनजिक पहिलेदेखि नै ढुङ्गेधारा रहेको छ । जङ्लभित्र रहेकाले ढुङ्गेधाराको पानी सङ्कलन गरी तीर्थयात्री र वनभोजका लागि पानीको व्यवस्था गएिको छ । प्रख्यात अन्नपूर्ण देवीकै नाममा सो क्षेत्रमा विद्यालयलगायत संस्थाको नामकरण गरिएको पाइन्छ । यहाँ अन्नपूर्ण माध्यमिक विद्यालय सञ्चालनमा रहेको छ ।
मन्दिरमा प्राचीन समयदेखि नै श्रेष्ठ थरका नेवारले पूजा गर्दै आएको पाइन्छ । उनीहरूलाई पुजारी परिवार भन्ने गरिन्छ । भक्तजनले चढाएका भेटी, वस्त्र र अन्नबाहेक मन्दिरको गुठी आम्दानी केही छैन । सो क्षेत्रका सम्पन्न किसानले अन्नपूर्ण देवीलाई अक्षता चढाउन भनेर मङ्सिरमा धान दिने गर्थे । अहिले त्यो प्रथा परम्परासमेत हराएको पाइन्छ । जिल्ला प्रशासन कार्यालय गोरखामा संस्थागत दर्ता गरिएको सो मन्दिरमा नियमित पूजा सञ्चालन गर्नसमेत समस्या रहेको बताइन्छ । नित्य पूजा गरेबापत जीवनयापन गर्नका लागि पुजारीलाई तलब दिनुपर्ने हुन्छ । मन्दिरको नियमित आम्दानी नभएकाले नित्य पूजा, सरसफाइ, प्रसाद वितरण जस्ता कार्यलाई व्यवस्थित बनाउन अक्षय कोष स्थापना गर्ने प्रयास भइरहेको छ ।
कसरी पुग्ने त्यता
काठमाडौँबाट गोरखाको हर्मी जाने बसमा चढेर पृथ्वी राजमार्गमा हुइँकिँदै आँबुखैरेनी पुगिन्छ । त्यहाँबाट १२ किलो भन्ने सानो बजार हुँदै छेपेटार भएर यात्रा गर्न सकिन्छ । ‘गैरी खेतको शिरै हान्यो वर्षायामको दरौँदीले’ भन्ने गीत कुनै बेला सुन्नुभएको थियो भने त्यो दरौँदीको फाँट नियाल्दै रमाइलो लिन सकिन्छ । त्यही दरौँदी खोलाको पुल तरेपछि देउराली भन्ने स्थानमा ओर्लिएर पाँच मिनेट जति पैदल हिँडेपछि अन्नपूर्ण मन्दिर पुगिन्छ । नारायणघाट गोरखा राजमार्ग अन्तर्गत गोरखा जाने बसमा चढेर पनि यो गन्तव्य पुग्न सकिन्छ । सो राजमार्गको १२ किलोमा झरेपछि त्यहाँबाट भाडाका ट्याक्सी लिन सकिन्छ । निजी साधन हुनेका लागि मन्दिरस्थलमा पार्किङको चिन्तै गर्नु पर्दैन । मन्दिरसम्मै मोटरबाटो भएकाले आफूलाई सहज हुने साधन र मार्गबाट यस मन्दिरमा पुग्न सकिन्छ ।