• १८ चैत २०८१, सोमबार

भिरमौरी सिकारीलाई सुरक्षा सामग्री

blog

तस्बिर : नवीनराज कुइँकेल डोरीमा झुन्डिएर मह सिकार गर्दै एक सिकारी ।

लमजुङ, चैत १६ गते  । हेर्दै टोपी खस्ने छङ्गाछुर भिरको कापामा चोयाको डोरीमा झुन्डिएर भिरमौरीको सिकार गर्नु पर्छ । परापूर्वकालदेखि स्थानीयले यस्तै जोखिम मोलेर मह सिकार गर्दै आइरहेका छन् । लमजुङका विभिन्न ठाउँका भिरपहरामा हुने भिरमहको सिकार सुरक्षित बनाउन सिकारीलाई सुरक्षा सामग्रीको बन्दोबस्त गरिएको छ । मौरी विकास केन्द्र गोदावरी ललितपुरले भिरमौरीको मह सिकार गर्नेलाई सचेतनासहितको तालिम र सुरक्षा सामग्री वितरण गरेको हो । 

मस्र्याङ्दी गाउँपालिका–२ को घनपोखरा र वडा नं. ६ को नाइचेगाउँका सिकारीलाई एक/एक बन्डल आधुनिक डोरीसहितका सामग्री प्रदान गरिएको हो । अझै पनि गाउँघरमा बाँस तथा निगालोको चोयाको डोरी प्रयोग हुने गरेको र त्यो डोरी लामो समय नटिक्ने भएकाले बर्सौंसम्म खप्ने आधुनिक डोरी सहयोग गरिएको मौरी विकास केन्द्र गोदावरी ललितपुरका प्रमुख तीर्थकुमार श्रेष्ठले बताउनुभयो ।

सोही अवसरमा हिमालयन क्लिफ हनी संस्थाले मह सिकार गर्ने १३ वटा गाउँलाई सुरक्षा सामग्री सहयोग गरेको छ । मह सिकार गर्दा लगाउने टोपी, ज्याकेट, पन्जा, जुत्तालगायतका सामग्री सहयोग गरिएको हिमालयन क्लिफ हनी संस्थाका सञ्चालक सुनिल कँडेलले बताउनुभयो । करिब ६० हजार रुपियाँ बराबरको सामग्री सहयोग गरिएको उहाँले जानकारी गराउनुभयो । 

लमजुङको घनपोखरा, उपल्लो चिप्ला, नाइचे, सिमी, लुदी, टाँपगाउँ, सिउरुङ, भुजुङ, नयाँगाउँ, ताघ्रिङ, तल्लो चिप्ला, तल्लो घनपोखरा र ताँजे गाउँका मह सिकारी टोलीलाई सुरक्षा सामग्री सहयोग गरिएको सो संस्थाले जनाएको छ । 

सुरक्षा सामग्री सहयोग गर्नुअघि भिरमौरीको अवस्था, भिरमौरीको मह सिकार गर्दा  अपनाउनुपर्ने सावधानी, सचेतना र तयारीका बारेमा प्रशिक्षण दिइएको मौरी विकास केन्द्र गोदावरी ललितपुरका मौरीविज्ञ एवं प्रधानाध्यापक रेशमबहादुर थापाले जानकारी दिनुभयो । विश्वमै विरलै हुने यसप्रकारको मह सिकार लमजुङका घनपोखरा, सिउरुङ, ताघ्रिङ, भुजुङ, दुधपोखरी, बन्सार, ढोडेनीलगायतका स्थानमा हरेक वर्ष गरिन्छ । मह सिकार पर्यटक आकर्षणको माध्यमका साथै आम्दानी पनि हुँदै गएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताउनुभयो ।