काठमाडौं, चैत १५ गते । सत्तारुढ नेकपा (एमाले) ले शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसाको भर्त्सना गर्दै संविधान रक्षाका लागि दृढतापूर्वक उभिने जनाएको छ ।
पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबार जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘आज पूर्व राजावादीहरुको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको नेकपा (एमाले) घोर भ्रत्र्सना गर्दछ । शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन् ।’’
नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘‘सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ । आजका आपराधिक क्रियाकलापमा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।’’