• २७ वैशाख २०८१, बिहिबार

घरमा ढोका लगाएर पाटनमै व्यस्त

blog

हिमपाटनमा यार्सागुम्बा खोज्दै बालक तथा वृद्धवृद्धा । तस्बिर : विष्णुप्रसाद देवकोटा

डोल्पा, जेठ २१ गते । गाउँका मानिसहरू यार्सागुम्बा खोज्न पाटनतर्फ गएकाले डोल्पाका गाउँबस्ती यतिबेला सुनसान छन् । उनीहरू हिमाली सुन भनेर चिनिने यार्सागुम्बा टिप्न गएपछि गाउँघर सुनसान बनेका हुन् ।त्रिपुरासुन्दरी नगरपालिका–१ का ७९ वर्षीय रविप्रसाद न्यौपानेले भन्नुभयो, “सबै जना यार्सागुम्बा टिप्नका लागि पाटन गएकाले गाउँ सुनसान छ । घर कुरुवालाई समय कटाउन साथी पनि छैनन् ।”

गाउँघरमा कोही कसैलाई तलमाथि भयो भने मलामी पाउन  गाह्रो हुने अवस्था रहेको उहाँले बताउनुभयो । एक पटकको कमाइले वर्षभरिको पढाइ खर्च धान्ने भएपछि विद्यार्थी पनि पढाइ छोडेर पाटन गएका छन् । सबै विद्यार्थी पाटन गएपछि यहाँका विद्यालय अघोषित रूपमा बन्द भएको बताइएको छ ।

“एउटा यार्सागुम्बा भनेको हजारको नोट हो तर यो सहजै पाइँदैन ।” त्रिपुरासुन्दरी नगरपालिकाको वन क्षेत्रमा यार्सागुम्बा खोज्दै गर्नुभएका ६५ वर्षीय रनबहादुर बुढाले भन्नुभयो । उमेर र मौसम फेरबदलका कारण यो वर्ष पाटन नजाने निधो गर्नुभएका त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडाका बुढाले गाउँका सपरिवार नाबालकसहित पाटनतिर गएपछि आफूले मन थाम्न नसकेर अन्तिम पटकका लागि पाटन पुगेको बताउनुभयो । विगतका वर्षमा दिनको ५० देखि ६० वटासम्म यार्सागुम्बा टिपेको स्मरण गर्दै उहाँले यो पटक मुस्किलले तीन दिनमा बल्ल–बल्ल छवटा मात्र पाउन सफल भएको बताउनुभयो । 

प्रत्येक वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म बेमौसमी खेती मानिने यार्सागुम्बालाई घर भित्र्याउने समयका रूपमा डोल्पालीले लिँदै आएका छन् । छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, दैलेख, जुम्लालगायत नेपालगञ्ज, काठमाडौँ, सिन्धुपाल्चोक र रामेछापसम्मका हजारौँ मानिसलाई यसबेला हिमपाटनमा बहुमूल्य जडीबुटी यार्सागुम्बाले तानेको छ । असिनापानी र जाडोको पर्वाह नगरी जीवन जोखिममा राखेर यार्सागुम्बा खोज्ने कार्यमा उनीहरू व्यस्त छन् । यार्सागुम्बा सिजनमा विशेषगरी उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामध्ये डोल्पामा पर्ने काइके गाउँपालिका र ठूलीभेरी नगरपालिका ५ र ६ का सम्पूर्ण विद्यालय बन्द छन् । 

नेपालका डोल्पा र दार्चुला जिल्लामा प्रसस्त पाइने भए पनि मुगु, हुम्ला, जुम्ला, मनाङ, गोरखा बझाङ, रुकुम, लमजुङ, सिन्धुपाल्चोक, सङ्खुवासभा, धादिङ, ताप्लेजुङ, रसुवालगायत नेपालका २० जिल्ला र भुटान, भारत, चीन र तिब्बतमा पनि यार्सागुम्बा पाइन्छ । सामान्यतया छ महिना हिउँ पर्ने र छ महिना हिउँ पग्लिने हिमरेखाको आसपास समुद्र सतहबाट तीन हजारदेखि पाँच हजार पाँच सय मिटरसम्मको घाम लाग्ने पारिलो मोहडाका पाटन क्षेत्रमा यार्सागुम्बा पाइने अनुसन्धानकर्ता शिव देवकोटाले उल्लेख गर्नुभएको छ ।

डोल्पामा प्रतिकिलो यार्सागुम्बाको १४ देखि १६ लाख रुपियाँसम्म पर्दछ भने छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतमा १६ देखि २६ लाखसम्म पर्ने बताइएको छ । दुई वर्षअघि निकुञ्ज वन क्षेत्रमा पर्ने हिमपाटनमा बाहिरी जिल्लाबाट मात्र सात हजार ९९९ जना यार्सागुम्बा सङ्कलकहरूले प्रवेश गरेका थिए । तर, २०७७ मा कोरोना सङ्क्रमणका कारण यार्सागुम्बा सङ्कलन गर्न रोक लगाइएको थियो । निकुञ्जका रेन्जर तथा निमित्त संरक्षण अधिकृत लवकुमार गुरागाईंले यो वर्ष डोल्पामा के कति मानिस पाटनमा पुगे भन्ने यकिन तथ्याङ्क नभएको बताउनुभयो । 

दुई वर्षअघि यार्सागुम्बा सङ्कलकबाट झन्डै तीन करोड रुपियाँ प्रवेश शुल्क उठाएको निकुञ्जले जनाएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन उपभोक्तालाई प्रवेश शुल्कबापत पाँच सय रुपियाँ, मध्यवर्ती वन क्षेत्रबाहिरका जिल्लावासीलाई दुई हजार र जिल्लाबाहिरका नागरिकलाई तीन हजार रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । सरोकारवालाको जेठ ९ गते बसेको बैठकले जेठ १३ गते यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको थियो । निकुञ्जका अनुसार यो वर्ष पाँच करोड ८७ लाख पाँच हजार रुपियाँ बराबरको तीन श्रेणीका ५८९ ठेली रसिद पठाइएको छ । 

यो वर्ष यार्सागुम्बाबाट के कति राजस्व उठ्छ भन्ने काटिएका रसिद ठेली प्राप्त भएपछि मात्र यकिन हुने निकुञ्जले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले सकेसम्म यार्सागुम्बाको राजस्व छली नहोस् भनेर तीनै तहका सुरक्षा संयन्त्रलाई निर्वाचनपछि सबै क्षेत्रमा परिचालन गरिएको बताउनुभयो । यार्सागुम्बाबाट जिल्लामा करोडौँ आम्दानी हुँदै आए पनि यसको उपलब्धता र जीवनचक्रमा पर्ने असरका बारेमा भने अनुसन्धान नभएको बताइएको छ ।

Author

विष्णुप्रसाद देवकोटा