• १९ चैत २०८१, मङ्गलबार

बजेटमा विपत्लाई प्राथमिकता दिन्छौं : मन्त्री सार्की

blog

कार्यक्रममा उपस्थित मन्त्री हिरासिंह सार्कीसहितका व्यक्ति । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत १५ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले आगामी बजेटमा प्रदेश सरकारले विपत्लाई प्राथमिकता दिने बताउनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय एवम् मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको आयोजनामा आज धनगढीमा भएको विपत्सम्बन्धी कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री सार्कीले विभिन्न दातृ निकायसँग समन्वय गरेर विपत् व्यवस्थापनका लागि बढी बजेट छुट्टयाउने उल्लेख गर्नुभयो । 

मन्त्री सार्कीले पूर्व सूचना प्रणालीलाई अझ व्यवस्थित गर्नुका साथै सरकारले समुदायलाई सचेत पार्ने कार्य गर्ने बताउनुभयो। विगतमा भएको क्षतिलाई आङ्कलन गरेर अझै बढी तयार हुन आवश्यक रहेको उहाँको तर्क छ । 

विपत् जोखिम न्यूनीकरणको हकमा प्रदेश सरकारले धेरै अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको मन्त्री सार्कीको भनाइ थियो । उहाँले सङ्घसंस्थाहरूले विपत्को सवालमा अध्ययन गरेर प्रदेश सरकारलाई घचघच्याउने काम गरेको उल्लेख गर्नुभयो। 

प्रदेश सरकारबाट भएको कमिकमजोरी सुधार गर्न आवश्यक रहेको मन्त्री सार्कीले बताउनुभयो । उहाँले पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । 

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव आमोद दाहालले विपत् व्यवस्थापनको हिसाबले अध्ययन र बजेट बढाउन जरुरी रहेको बताउनुभयो । यस्तै, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका निर्देशक अशोकविक्रम जैरुले हरेक व्यक्ति, परिवार, पालिका विपत् उत्थानशील हुन जरुरी भइसकेको उल्लेख गर्नुभयो । उहाँले विपत् सम्बन्धी अध्ययनले प्रदेश सरकारलाई त्यस क्षेत्रमा बजेट विनियोजन गर्न सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा यो प्रदेशमा जलवायु अनुकूलन र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धित बजेट विश्लेषण अध्ययनबाट प्राप्त नतिजा सार्वजनिक गरिएको थियो ।