काठमाडौँ, चैत १५ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताको संज्ञा दिनुभएको छ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीको प्रतिकजस्तो बनेको टिप्पणी गर्नुभयो।
उहाँले घरमा आगो र प्रहरीमाथि समेत ढुङ्गा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक–दुई मान्छे मारेर देशभर आतङ्क फैलाउन चाहेको आरोप लगाउनुभयो। उहाँले आतङ्क फैलाउनु राजावादीको चरित्र भएको तर्क गर्नुभयो।
उहाँले भन्नुभयो, ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ। सबै प्रतिगामी, निरङ्कुशतावादीको एउटा प्रतिक जस्तो बनेर देखिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरे। देशभर आतङ्क फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीको चरित्र हो।’
इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न उहाँको चुनौती छ।