गोकर्ण पौडेल
तुलसीपुर, चैत १५ गते । कतै खोलामा पुल निर्माण हुन थालेको वर्षौं दिन बित्दासमेत काम सम्पन्न हुँदैन । निर्माण कम्पनी गालीको भागीदार मात्र हुँदैनन् प्रशंसाको शब्दबहारसमेत हुन्छन् ।
तुलसीपुर, शान्तिनगर हुँदै बबई गाउँपालिकाको भट्टे जोड्ने माथिल्लो सडकखण्डको भमके खोलामा पुल निर्माण सुरु भएको पाँच महिनाको अवधिमा सम्पन्न भएको छ ।
शारदा श्री निर्माण कम्पनीले २०८१ साल जेठ महिनामा सम्झौता गरी २०८१ साल मङ्सिर महिनादेखि काम सुरु गरेको थियो । काम सुरु गरेको पाँच महिनामा पुल निर्माणको काम पूरा गरिएको कम्पनीका प्रोजेक्ट इन्जिनियर शरद डाँगीले जानकारी दिनुभयो । २०८२ वैशाख १ गतेदेखि पुलबाट यातायातका साधन सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले एउटै शीर्षकमा चार करोड २५ लाखको लागतमा बौलाहा खोला र भमके खोलामा पुल निर्माण काम सुरु गरेको थियो ।
बौलाहा खोलामा २०८२ असार अघिनै सञ्चालनमा ल्याउने गरी पुल निर्माण काम भइरहेको इन्जिनियर डाँगीले बताउनुभयो ।
भमके खोलाको पुलको लम्बाई २८ मिटर र चौडाई दश मिटर छ । तुलसीपुर उपमहानगरपालिका १ को एम्बुलेन्स चालक केशवराज कडेँल पुल निमार्णपछि बिरामीलाई अस्पतालसम्म लैजान सहज हुने बताउनुहुन्छ । कँडेलका अनुसार वर्षायाममा खोलामा भेल आउँदा करिब १० किलोमिटर घुमाउरो बाटो भएर तुलसीपुर बिरामी लैजानुपर्ने बाध्यता टरेको छ ।
तुलसीपुर, शान्तिनगर, खिलतपुर हुँदै बबई गाउँपालिकाको भट्टे खोला जोड्ने माथिल्लो सडकखण्डको भमके खोला र बौलाहा खोलामा पुल नहुँदा बर्सेनि वर्षायाममा नागरिकले सास्ती व्यहोर्नु परेको तुलसीपुर उपमहानगरपालिका १ का वडाध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो । पुल निर्माण भएसँगै वर्षायाममा यात्रा गर्न कठिनाई नहुने अध्यक्ष सापकोटाले बताउनुभयो ।