राधाकृष्ण डुम्रे
वालिङ(स्याङजा), चैत १५ गते । स्याङ्जाको वालिङमा केदारनाथ शिवधाम निर्माण गरिने भएको छ । योगी नरहरी नाथलेद्वारा नामाकरण गरिएको वालिङ नगरपालिका-८ को केदारनाथ मन्दिरलाई स्त्तरोन्नती गरी धाम निर्माण गर्न लागिएको हो ।
स्याङ्जाको मुख्य बजार क्षेत्रमा रहेको मन्दिरलाई नयाँ स्वरूप दिन र धाम निर्माणका लागि महायज्ञ गर्ने तयारी भएको विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञ पश्चात बनाइने धाममा धर्मशाला, किरियापुत्री भवन, अन्न क्षेत्र तीर्थयात्री निवास, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकुलम) आदि निर्माण गरिने छ ।
नैतिक शिक्षाको अभावमा पछिल्लो समय समाजमा नकारात्मकता बढेको भन्दै यसको प्रवर्धनका लागि गरिने महायज्ञ प्रमावकारी हुने वालिङ नगरपालिकाका मेयर कृष्ण खांणले बताउनु भयो । उहाँले भन्नुभयो, “समाजमा राम्रो काम गरे पनि नकारात्मक धारणा बनाउने र आफूलाई नै परिवर्तन गर्ने क्रम बढेको छ, त्यसैले गुरुकुल आवश्यक छ ।”
महायज्ञका सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमो महायज्ञ आयोजक समितिका संयोजक तथा वालिङ नगरपालिकाका पूर्व मेयर दिलिपप्रताप खांणले जिल्ला कै मध्य भागमा नमुना धार्मिक क्षेत्र निर्माण गरिने योजना रहेको बताउनु भयो । धर्म,संस्कार र संस्कृतिको संरक्षणका लागि सबैले सहकार्य गर्नु पर्नेमा उहाँको जोड छ ।
धार्मिक कार्यका लागि नगरपालिकाले सबै खाले सहयोग गर्ने नगर उपप्रमुख कविता तिवारी (गैह्रे) ले बताउनु भयो । स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाको पहिचानको लागि धाम महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । महायज्ञ आगामी वैशाख १७ गते देखि २३ गते सम्म सञ्चालन हुने उहाँको भनाइ छ ।
महायज्ञ सफल पार्नका लागि विभिन्न उपसमितिहरु बनाइएको भन्दै बजार परिसरमा नै हुने महायज्ञ सफल हुनेमा आयोजकको विश्वास छ । महायज्ञमा पण्डित नेत्रप्रसाद पराजुलीले सङ्गितमय कथा वाचन गर्नुहुने आयोजकले जनाएको छ ।